राजन रावत
हुम्ला, चैत २ गते । हिमाली जिल्ला हुम्लाका उच्च स्थानका साथै लिमीमा हिमपात भएको छ । बिहीबार बिहानैबाट मौसम बदली भएपछि दिउँसोबाट हिमपात सुरु भएको हो । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमी उपत्यकामा हिमपात भएको बताउनुभयो । सुरुमा पानी परे पनि अहिले हिउँ जम्न थालेको उहाँको भनाइ छ । हिमपात भए पनि लिमीका दुई वटा विद्यालयहरू भने सुचारु छन् ।
हिउँ जम्न सुरु भएपछि लिमी सेताम्मे देखिएको छ । उहाँले हिमपातसँगै चिसो बढेर तापक्रम माइनस ११ डिग्री सेल्सियसमा झरेको बताउनुभयो । यो हिमपातले खेतीपातीको समय भएको कारण किसान भने खुसी भएका छन् ।
लिमीका लागि यो हिमपात चौथो पटक हो । यसैबीच जिल्लाका उच्च स्थानमा समेत हिमपात भएको छ । नाम्खा गाउँपालिकाको यारी, चाला, न्यालु, लेकधिङ्गा र सिमकोट गाउँपालिकाको रलिङ, पन्चमुखी हिमाल लगायतका उच्च स्थानमा हिमपात भएको हो । दक्षिणी क्षेत्रमा भने हल्का वर्षा भएको छ । यस वर्ष जिल्लामा हिमपात अझ कमै भएको स्थानीयको भनाइ छ ।