• १२ मंसिर २०८१, बुधबार

पुलको निर्माणकार्य कछुवा गतिमा

blog

निर्माणाधीन अवस्थामा रहेको पुल । तस्बिर : विष्णुप्रसाद देवकोटा

विष्णुप्रसाद देवकोटा

डोल्पा, चैत २ गते । क्याराभान कन्स्ट्रक्सनले काम नै शुरु नगरी दुई वर्षदेखि त्रिवेणीमा अलपत्र पक्की पुलको निर्माण कार्य सुरु गरेको छ । तर काम कछुवा गतिमा भइरहेको छ ।  जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेले भेरी करिडोर अन्तर्गत भेरी नदीमा पुल निर्माण गर्न  क्याराभान कन्स्ट्रक्सनलाई टेण्डरमार्फत कामको जिम्मा दिएको थियो । 

डोल्पा जाजरकोट र रुकुम पश्चिमको त्रिसाँध डोल्पाको त्रिवेणीमा २०७७ मा निर्माणकार्य शुरु गर्नेगरी क्याराभानले कामको जिम्मा पाएको थियो । क्याराभान कन्स्ट्रक्सनले साढे दुई वर्षसम्म पनि निर्माणको काम सुरु नै नगरी पछि आएर स्थानीय रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई पुल निर्माणको ठेक्का दिएपछि निर्माण कार्य थप अलपत्र परेको हो । 

पन्ध्र करोड रुपियाँमा पुल निर्माण गर्ने भन्दै जगदुल्ला हाइड्रोपावर कम्पनीले साढे दुई वर्ष अघि ठेक्का खोलेको थियो । क्याराभान कन्स्ट्रक्सनवाट १४ करोड १७ लाखमा कामको जिम्मा लिएको रेट्रो ट्रेक कन्स्ट्रक्सनले अहिले आएर पुलको निर्माणकार्य शुरु गरे पनि पुलले भने खासै गति लिन सकेको छैन ।

कहिले बर्खा र कहिले जग्गा विवादका कारण देखाउँदै काममा ढिला गर्ने गरेका कारण निर्माण कार्यले गति लिन नसकेको हो । रेट्रो ट्रेक कन्स्ट्रक्सनको तर्फबाट योजना निर्माणस्थलमा खटिएका सबइन्जिनियर तथा साइट इन्चार्ज सुरेन्द्र रावल पुलको बेस बनाउने निर्माण सामग्री जम्मा गर्नुका साथै तटवन्ध निर्माणकार्य भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बर्खा लाग्नुभन्दा अगावै निर्माण सामग्रीसहित उपकरणहरु आयोजना स्थलसम्म पुगेमा अबको डेढ वर्ष भित्रमा निर्माणकार्य सम्पन्न हुन्छ ।”

पुलको निर्माणकार्य ढिलाइ हुँदा निर्माणाधीन १०६ मेगावाटको जगदुल्ला हाइड्रोपावर निर्माण कार्यमा बाधा पुगेको छ । क्याराभान कन्ट्रक्सनका प्रोपराइटर चन्द्र थकालीले पुलको कामै नगरी पेश्कीबापत ७२ लाख रुपियाँ लिइसकेका छन् ।