• १२ पुस २०८१, शुक्रबार

झ्याउँकिरी र जुनकिरी

blog

जङ्गल निकै सुनसान थियो । सङ्गीतको धुन बजेको अनुभूत भइरहेको थियो । आफू एक्लो भएको त्यति महसुस भएको थिएन । एक्कासि झ्याप्पै अँध्यारो भयो । छामछाम छुमछुम गर्दै  म जङ्गलको बाटो हिँड्दै थिएँ । बाटाका छेउछाउतिर झलमल्ल बत्ती बलेको देखेँ । मलाई लाग्यो, ‘ए बाबा ! यो के भयो ? यस्तो सुनसान वनमा कतै बत्तीको उज्यालो देखिन्छ । कतै सङ्गीतको आवाज आउँछ ।’ सानो छँदा हजुरबाले कथा भनेको याद आयो । उहाँ भन्नुहुन्थ्यो, ‘आपत्विपत्मा भगवान्ले साथ दिन्छन् ।’ साँच्चै हो कि क्या हो जस्तो पनि लाग्यो तर पनि मनमा डर लागिरह्यो । मैले हस्याङ्फस्याङ गर्दै बल्लतल्ल जङ्गलको बाटो काटेँ । 

जङ्गलको बाटो काट्ने बित्तिकै गाउँघर देखिन थाले । छिटोछिटो गर्दै म काकाको घर पुगेँ । काकाकाकी र भाइबहिनी मेरै बाटो हेरेर बाहिर कौसीमा बसिरहेका रहेछन् । म घर पुग्ने बित्तिकै खुइययय गरेर लामो सास फेरेँ । एकाएक बोली निक्कियो, ‘बल्ल बाँचेँ ।’ काकाले छोरीलाई पानी ल्याउन भन्नुभयो । काकीले भित्रबाट एक अम्खोरा पानी लिएर आउनुभयो । पानी पिएँ अनि बाटामा भोगेका सबै समस्या बेलिबिस्तार लगाएँ । भाइबहिनी पनि तिनछक्क परे । काकाले मेरा कुरा सुनेर हाँस्दै भन्नुभयो, “ती त हाम्रा जङ्गलका साथी हुन् 

लाटा ! हाहाहा तँ त आज साह्रै पो आत्तिछस् त नि ।” कसरी साथी हुन्छन्, मैले केही देखिन बाटामा । ठूल्ठूला आँखा पार्दै काकालाई प्रतिप्रश्न गरेँ । काकाले भन्नुभयो, “एकान्त वनमा झ्याउँकिरी बास बसेको हुन्छ । साँझ परेपछि ती झ्याउँकिरी ¥याऊँ¥याऊँ ¥याऊँ¥याऊँ गरी कराउन थाल्छन् । हामी मान्छेलाई त्यो ध्वनि एक प्रकारको सङ्गीतजस्तै लाग्छ । काकाले बढो बुझ्ने भाषामा बताउनुभयो । 

म आश्चर्यमा परेँ । अनि फेरि काकालाई बत्ती चाहिँ कसले बालेको नि काका भनी प्रश्न गरेँ । काका फेरि हाँस्नु भयो र भन्नुभयो, “बत्ती चाहिँ जुनकिरीले बालेको हो । त्यो पनि एक प्रकारको कीरा हो । प्रकृतिले दिएको उपहार हो । यो पनि साँझपख वनजङ्गलमा ढुङ्गाको कापतिर बास बस्छ तर यिनीहरू साँझ र रातमा पनि यताउता डुलिरहेका हुन्छन् । जुनकिरी उड्दा उसको पछाडि पट्टिको भागमा प्रकाश निस्किन्छ । त्यसैको उज्यालो तिमीले देखेका हौ ।” काकाको कुरामा मैले सही थापिहाल्न सकिनँ । म एकछिन टोलाएँ । पक्कै पनि मलाई काकाले डर भगाउन यसो भन्नुभएको होला । यस्तो त कसरी हुन्छ र ? अन्धकारमा हिँड्दा उज्यालो प्रकाश पनि अनि सङ्गीतको धुनजस्तो आनन्दित धुन पनि । 

त्यो पनि मान्छे हिँड्ने बाटैभरि । मेरो मनले विश्वास गर्न सकेन तर काकालाई मैले भनेँ, हो र काका ? हजुर बाजी ठोकेर भन्न सक्नुहुन्छ ? काकाले फेरि भन्नुभयो, हैन 

तैँले त पत्याइनस् कि के हो मेरो कुरा । उसो भने भोलि साँझ हिँड् न त फेरि त्यही बाटोमा अनि म देखाइदिऊँला । काकाको कुराले बल्ल म ढुक्क भएँ । भाइबहिनीले पनि हाम्रो कुरा सुनिरहेका थिए । उनीहरूले पनि भने, ल ल हामी पनि हजुरहरूसित झ्याउँकिरी र जुनकिरी हेर्न जाने । सबै जना निकै उत्सुक थिए । यिनीहरूको उत्सुकता देखेर काकाले भोलि साँझ भ्याउँकिरी र जुनकिरी हेर्न जाने निर्णय गर्नुभयो ।