अविनाश चौधरी
धनगढी, चैत २ गते । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश विशेष अनुदानसम्बन्धी कार्यविधि २०७९ मन्त्रिपरिषद् बैठकबाट पास गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सो कार्यविधि पास गरेको हो । साथै, विशेष अनुदानको बजेट सिलिङ कम्तीमा २५ लाख रुपियाँको बनाएको छ । यसैगरी, मन्त्रिपरिषद्ले प्रदेश समपूरक अनुदानसम्बन्धी कार्यविधि २०७९ स्वीकृत गरेको छ । समपूरक बजेट अनुदानको सिलिङ कम्तीमा ५० लाख रुपियाँको बनाइएको छ ।
दुई वटै कार्यविधि कार्यान्वयनमा उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने सवाललाई निरुत्साहित गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । यसैगरी, डा. हेमराज पन्तको संयोजकत्वमा तीन सदस्यीय शिक्षाक्षेत्र सुधार सुझाव कार्यदल बनाइएको छ । त्यस्तै, डा. गणेशबहादुर सिंहको संयोजकत्वमा तीन सदस्यीय स्वास्थ्यक्षेत्र सुधार सुझाव कार्यदल गठन गरिएको छ । दुवै कार्यदललाई काम सुरु गरेको दिनदेखि ३५ दिन कार्य अवधि तोकिएको छ ।