• १२ साउन २०८१, शनिबार

युएईविरुद्ध निर्णायक खेलमा नेपाल पहिले बलिङ गर्दै

blog

फाइल तस्बिर ।

काठमाडौं, चैत २ गते । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले आज संयुक्त अरव इमिरेट्स (युएई) विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेको नेपालले पहिले बलिङ गर्ने भएको छ । युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो ।

नेपालले आज तीव्र गतिका बलर करण केसीलाई आराम दिएको छ । प्रशिक्षक मोन्टी देसाईले करणको स्थानमा गुलशन झालाई मौका दिनु भएको छ ।


विश्वकप लिग-२ कै अन्तिम यस खेल नेपालका लागि विश्वकप छनोटमा स्थान बनाउन निकै महत्वपूर्ण छ । अघिल्ला तीन खेलमा लगातार जित निकालेको नेपाल यस सिरिजमा क्लीन स्वीप गदै आगामी जुन जुलाईमा जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै स्थान बनाउने लक्ष्यमा छ ।

यता युएई पनि नेपाललाई हराएर लिगको सुखद अन्त्य गर्ने तयारीमा छ । त्रिवि मैदानमा हजारौं दर्शकको साथमा नेपाल विश्वकप छनोट यात्रा स्मरणीय बनाउन चाहन्छ । नेपाली टोलीलाई सर्मथन गर्न हजारौं संख्यामा दर्शक बिहीबार बिहानै कीर्तिपुर पुगेका छन् ।

जित बाहेक अर्को विकल्प नरहेकोले नेपाललाई आजको खेलमा मौसमले समेत साथ दिनुपर्ने आवश्यकता छ । यदि पराजित भएमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने विश्वकप छनोट खेलको क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ ।

लिगमा ३५ खेल खेलेको नेपाल १८ जित र १५ हारसहित ३८ अंकका साथ तालिकाको चौथो स्थानमा छ। सबै खेल सकेको नामिबिया ३९ अंक सहित तेस्रो स्थानमा छ ।

नेपालले आजको खेल नेपालले जितेका नामिबिया चौथो स्थानमा झर्नेछ भने नेपालले शीर्षतीनमा स्थान बनाउँदै जिम्बावेको यात्रा तय गर्नेछ । युएईसँग बराबरीमा रोकिए पनि नेपाललाई काम छैन ।

३५ खेलबाट ३३ अंक बनाएको युएई छैटौं स्थानमा छ । युएई सोझै छनोटबाट बाहिरि सकेको छ । यस्तै यस सिरिजको अर्को टोली पपुवा न्युगिनी (पीएनजी) सबै ३६ खेल सक्खै ११ अंकसहित तालिकाको अन्तिममा छ । 

सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमानले जिम्बावे यात्रा तय गरिसकेका छन् ।

३९ अङ्क जोड्दै ३९ अंक बनाएको नामिबियालाई नेपालको उत्कृष्ट लयले थप झस्काएको छ । नेपालले आज युएईलाई हराएमा  ४० अंक बनाउनेछ । यस्तै ३५ अङ्क बनाएको अमेरिका पाँचौँ स्थानमा छ । 

लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले सिधै एकदिवसीय विश्वकप छनोट खेल्न पाउने प्रावधान छ ।