• ११ मंसिर २०८१, मङ्गलबार

शेरचन हत्याका आरोपित पक्राउ

blog

काठमाडौँ, चैत २ गते  । गुल्मी मुसीकोट नगरपालिका–७, वामी टक्सारकी ५७ वर्षीया गङ्गादेवी शेरचनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । काठमाडौँबाट पक्राउ परेका ती युवकको परिचय भने प्रहरीले खुलाएको छैन ।

शेरचनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि दुई युवकलाई पक्राउ गरिसकेको छ । मङ्गलबार पक्राउ परेका ती युवकलाई आवश्यक अनुसन्धानका लागि गुल्मी लगिएको छ । प्रहरीले घटनामा संलग्न बागलुङका एक र सिन्धुपाल्चोकका एकसमेत दुई युवकलाई पक्राउ गरेको जनाएको छ ।

पछिल्लो समय पक्राउ परेका आरोपित मकवानपुरका रहेको र उक्त घटनामा अन्य एक जना व्यक्ति पनि सहभागी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार गत माघ १६ गते बिहान शेरचनको शव फेलापरेको थियो । दुवै हात–खुट्टा बाँधिएको र मुखमा टेप लगाइएको अवस्थामा शव फेलापरेकाले हत्याको आशङ्का गरिएको थियो ।

घटनाको प्रकृति हेर्दा योजनाबद्ध रहेकाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रदेश प्रहरी कार्यालय लुम्बिनी तथा जिल्ला प्रहरी कार्यालय गुल्मीले संयुक्त रूपमा अनुसन्धान थालेका थिए । प्रदेश प्रहरी कार्यालय लुम्बिनीका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईका अनुसार अविवाहिता शेरचन माइतीमै रहेर होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएको थियो ।

होटलमा ग्राहकको आवरणमा आएका पेसेवर डाँकाले वृद्धाको हत्या गरी साथमा रहेको नगद तथा गहना लुटपाट गरेको पाइएको छ । प्रहरीको अनुसन्धानमा हत्यारा सामाजिक सञ्जालमा राखेका भिडियो र फोटोबाट स्थान र व्यक्ति पहिचान गरी काठमाडौँबाट गुल्मीसम्म पुगेका थिए । पक्राउ परेका दुई जना डाँका चोरीमा १०/१० वर्ष जेल सजाय काटेर थुनामुक्त भएको खुलेको छ ।