• १२ साउन २०८१, शनिबार

केरा खेतीतर्फ किसान आकर्षित

blog

रौतहटका किसानले खेतमा लगाएको केरा । तस्विर : सञ्जय कुमार मिश्र, गौर ।

सञ्जय कुमार मिश्र 

गौर, चैत १ गते । कम लगानीमा बढी फाइदा हुने केरा खेतीतर्फ रौतहटका कृषकहरूको आकर्षण बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत किसानहरूलाई केरा खेती गरी आयआर्जन गर्न उद्देश्यले प्राविधिक सहयोग, अनुदान, केराको बोट वितरण लगायत विभिन्न सेवा सुविधाहरू उपलब्ध गराएपछि किसानहरूको केरा खेतीतर्फ आकर्षण बढेको हो ।

परियोजना कार्यान्वयन एकाइ रौतहटले जिल्लाको गढीमाई ,कटहरिया, चन्द्रपुर, गौर, फतुवाविजयपुर, परोहा, राजपुर, ईशनाथ र मौलापुर नगरपालिकाको ३२ वटा वडामा केरा जोनअन्तर्गत ३२१ हेक्टरमा केराखेती भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ रौतहटका प्रमुख दीपक कुमार मिश्रले बताउनुभयो ।

केरा खेती गर्न किसानलाई उन्नत प्रविधिको केराको बोट, ५० प्रतिशत अनुदान, माटो जाँचको व्यवस्था, साना सिँचाइको व्यवस्था, प्राविधिक सुविधालगायत रोग नलाग्न नदिने व्यवस्थासहितको सुविधा उपलब्ध गराइएको एकाइ प्रमुख मिश्रले जानकारी दिनुभयो ।

किसानहरूले खासगरी मालभोग, बडहरी, घुसेर, हाईर्विड, भुजरी प्रजातिका केरा उत्पादन गर्ने गरेको तथा वार्षिक १ कठ्ठामा पचास हजारदेखि साठी हजारसम्म आम्दानी गर्ने गरेकोसमेत उहाँले बताउनुभयो । थोरै लगानी तथा सामान्य हेरचाहबाट नै प्रशस्त आय आर्जन गर्नसक्ने हुनाले कृषकहरू व्यावसायिक रूपमा केरा खेती गर्न थालेका तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सेवा सुविधा पाएपछि केरा खेती गर्दै आएका गढीमाई नपा धर्मपुरका अनिरुद्ध यादवले बताउनुभयो । उहाँले अन्य बालीभन्दा केरा उत्पादन मै बढी मुनाफा हुन थालेपछि अन्य बाली लगाउने छाडेका छन् । 

उहाँ भन्नुहुन्छ, "मेरो डेढ बिघा जति जग्गा छ जसमध्ये एक बिघा जग्गामा मैले केराको बोट लगाएको छु । केरा नगदे बालीको रूपमा रहेको र यसमा बढी खर्च पनि लाग्दैन । केरा बारीको सामान्य हेरचाहले नै पुग्ने हुनाले यो खेती तर्फ लागेको हुँ ।"

केरा खेती गर्न बढी परिश्रम गर्नु नपर्ने हुँदा आफूले पनि केरा खेती गरेको गौर टिकुलियाका रामएकवाल सहनी बताउनुहुन्छ । केराको बोट हुर्काउन सजिलो हुने तथा उत्पादन बढी हुनाले यसतर्फ आकर्षित भएको उहाँको भनाइ छ ।