• १५ वैशाख २०८१, शनिबार

नेपालभर २५४ वटा डायलासिस मेसिनको माग

blog

डायलासिस मेसिनबाट डायलासिस गरिँदै ।

सिर्जना खत्री

काठमाडौं, चैत १ गते । सरकारसँग देशभर ३७ वटा स्वास्थ्य संस्थाले २५४ वटा डायलासिस मेसिन माग गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका अनुसार देशभरका साना ठूला ३७ वटा स्वास्थ्य संस्थाले २५४ वटा डायलासिस मेसिन माग गरेका हुन् ।

व्यवस्थापन महाशाखा निर्देशक डा. सर्वेश शर्माले हाल महाशाखाको भण्डारण कक्षमा २० थान मेसिन रहेको जानकारी दिनुभयो । पछिल्लो समयमा ठूला अस्पतालदेखि स्थानीय तहसम्ममा स्वास्थ्य संस्थामा डायलासिस मेसिन माग बढ्दै गरेको शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाल ३७ वटा स्वास्थ्य संस्थाले २५४ वटा मेसिनको माग छ । तर हामीसँग जम्मा २० वटा छ ।

भारत सरकारले दिने भनेको १८० वटा आइपुगेको छैन। ती मेसिन दिएमा माग भएका जतिलाई लगभग पुग्छ।” भारत सरकारले २०० सय थान मिर्गौला डायलासिस मेसिन उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणा अनुसार केही दिनअघि २० थान डायलासिस मेसिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको थियो । बाँकी १८० डायलासिस मेसिन हस्तान्तरण गरेको छैन ।

आवश्यकताको आधारमा वितरण गर्छौँ । माग अनुसार दिने भन्दा पनि अनुगमन कुन स्वास्थ्य संस्थामा कति मेसिन आवश्यक गर्छ त्यसका आधारमा मेसिन वितरण गर्ने शर्माको भनाइ छ । उहाँले भन्नुभयो,“कतिपय स्वास्थ्य संस्थाले स्वास्थ्यकर्मी नहुँदा पनि मेसिन माग्ने र प्रयोग नगरी राख्ने गरेको समेत पाइएको छ । यस्तो नहोस् भनेर हामीले बिरामीको चाप हुने र प्रयोग हुने स्थानमा प्राथमिकतामा राखेर मेसिन वितरण गर्नेछौँ ।” जुन संस्थामा मेसिन प्रयोगविहीन अवस्थामा छ ।

त्यस्तो संस्थाबाट मेसिनहरूलाई आवश्यक स्वास्थ्य स्वास्थ्य संस्थामा सार्ने योजना बनाएको शर्माले जानकारी दिनुभयो । कुन संस्थाले कति माग गरेका छन् व्यवस्थापन महाशाखाका निर्देशक डा. शर्माले उपलब्ध गराएको तथ्याङ्क अनुसार उपत्यकाका ठूला स्वास्थ्य संस्था र साना स्वास्थ्य संस्थाहरूले डायलासिस मेसिनको माग गरेका छन् । झापाको अर्जुनधारा नगर अस्पतालले २ थाना, तनहुँस्थित बन्दीपुर अस्पतालले १० थान, गुलरियास्थित बर्दिया अस्पतालले दुई थान मेसिनको माग गरेका छन् ।

महाशाखाका अनुसार वीर अस्पतालमा २० वटा, चितवनस्थित बीपी कोइराला मेमोरियाल क्यान्सर अस्पतालले चार, सिभिल अस्पतालले १४, डडेलधुरा अस्पतालले पाँच, दमक अस्पतालले पाँच, धुलिखेल अस्पतालले १०, जिल्ला अस्पताल धनकुटाले पाँच, जिल्ला अस्पताल लमजुङले चार, जिल्ला अस्पताल पाँचथरले तीन, जिल्ला अस्पताल स्याङ्जाले तीन थान मेसिन माग गरेका छन् ।

गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीले चार, स्वास्थ्य कार्यालय रुकुम पश्चिमले चार,भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा ३० वटा मिर्गौला डायलासिस मेसिनको माग गरेका छन् । त्यस्तै, सप्तरीको कञ्चनरुप नगरपालिकाले एक, कान्ति बाल अस्पतालले पाँच, खैरहनी नगरपालिका चितवनले तीन, कोशी अस्पताल मोरङले चार, लुम्बिनी प्रादेशिक अस्पतालले १०, महेन्द्र नारायणनिधि मेमोरियल अस्पताल काठमाडौंले १०, मुग्लिङ हाइवे अस्पताल एक, नारायणी अस्पताल पर्साले २५, नयन हेल्थ नेपाल अछामले एक थान मेसिन माग गरेको शर्माले जानकारी दिनुभयो ।

कास्कीस्थित पोखरा नगरपालिका पाँच, थानकोटको प्राथमिक अस्पताल दुई, मोरङको रङ्गेली अस्पताल दुई, दाङको राप्ती एकेडेमी अफ हेल्थ साइन्सले १०, तुल्सीपुरकाे राप्ती प्रादेशिक अस्पतालमा आठ, गुल्मीको रेसुङ्गा नगरपालिका पाँच, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा दुई, सेती प्रादेशिक अस्पतालमा १२, सिरहा अस्पतालमा पाँच, टिकापुर अस्पतालको १०, उदयपुर जिल्ला अस्पतालमा पाँच थान मेसिन गरी २५४ थान मेसिनको माग छ ।

मुलुकभरमा सूचीकृत ५० वटा सरकारी र २९ वटा निजी, सामुदायिक तथा शिक्षण अस्पतालमा डायलासिस हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सामाजिक स्वास्थ्य सुरक्षा शाखाका प्रमुख डा. खगेश्वर गेलालका अनुसार सरकारी अस्पतालमा २८० र निजी अस्पतालमा ४३३ गरी ७१३ वटा डायलासिस मेसिन सञ्चालनमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार मुलुकभर छ हजारभन्दा बढी मानिसका मिर्गौलाले काम गर्दैन । तीमध्ये पाँच हजारले निःशुल्क रूपमा डायलासिस गर्दै आएका छन् । बाँकी एक हजारले शुल्क लिएर आकस्मिक रूपमा डायलासिस गर्दै आएको तथ्याङ्कमा उल्लेख छ । त्यस्ता बिरामीले सातामा तीन पटकसम्म डायलासिस गर्नुपर्ने हुन्छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।