सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, चैत १ गते । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–४, करङ्गैराका एक दम्पतीले जन्मजात अपाङ्गता भएका तीन सन्तानको उपचारमा सहयोग गर्न आग्रह गरेको छ।
अपाङ्गता भएका तीन छोरालाई १९ वर्षदेखि स्याहारसुसार गरेर बस्नु पर्दा उनीहरूको घरपरिवारको आर्थिक अवस्था अति दयनीय भएको छ। अपाङ्गता भएका बालबालिकाको स्याहारसुसारमा समय दिँदा अरू काम गर्न नपाएको गुनासो दम्पतीको छ। छोराहरू १९ वर्षीय सुजन, १६ वर्षीय दावा र १४ वर्षीय कुलबहादुरको स्याहारसुसारमै दिनरात बित्न थालेपछि दैनिक गुजारामै समस्या भएको आमा सुकुमाया तामाङले बताउनुभयो। उहाँले भन्नुभयो, “तीनै छोराका हातखुट्टा लुला छन् र बोल्न सक्दैनन्। तीनै छोरा सधैँ ओछ्यानमै सुतिरहँदा अति पीडा हुने गर्छ।”
घरपरिवारसँग सम्पत्तिको नाममा जस्ताले बेरेको सानो छाप्रो र थोरै पाखोबारी छ। जीवनमा आनन्द, खुसी र सन्तोष अनुभूति गर्न नपाएका आमा सुकुमाया र बुवा निङमान तामाङ अपाङ्गता भएका छोराहरूको मायाले कहीँ कतै घर छाडेर हिँड्नसमेत नसकेको बताउनुहुन्छ। सानो उमेरमा स्याहारसुसार गर्न सजिलो भए पनि ठूलो भएपछि कठिन भएको तामाङ दम्पतीको गुनासो छ। निङमान र सुकुमायाले छोराहरूको उपचारका लागि धुलिखेल र राजधानीका धेरै अस्पताल पु-याउनुभयो। डाक्टरहरूले उपचार हुन्छ भनेका छन् तर उपचारका लागि पैसा धेरै लाग्छ भनेपछि घर फर्काएर ल्याएको बुबा निङमानले सुनाउनुभयो। उहाँले भन्नुभयो, “छोराहरूलाई नियमित रूपमा कुरेर बस्नु पर्दा कमाउनसमेत जान सकिएको छैन।” छिमेकीको मेलापात गरेर दुई छाक खानासमेत उहाँहरूलाई धौ–धौ परेको छ।
बुवा तामाङले भन्नुभयो, “उपचारमा लाग्ने लाखौँ रुपियाँ कहाँबाट ल्याउन सक्नु मजस्तो गरिब परिवारले ? कसैले सहयोग गरिदिए मेरा केटाहरूले यो सुन्दर संसारमा केही गरेर खान सक्थे कि।” छरछिमेकीले सहयोग गरेको भरमा बिहान–बेलुकी गुजारा गर्दै आएका उक्त परिवारमा उपचार गराउन सके तीनै सन्तान हिँड्न सक्ने आशा अझै मरेको छैन। “घर, सम्पत्ति भए पनि बेचेर उपचार गर्न हुन्थ्यो; पाखो बारी कसैले किन्दैनन्,” निङमानले गुनासो गर्नुभयो।