• १ जेठ २०८१, मङ्गलबार

लघुवित्तको निष्क्रिय कर्जा बढ्यो

blog

काठमाडौँ, चैत १ गते । लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा रकम उल्लेखनीय रूपमा बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको ‘लघुवित्त वित्तीय संस्थाहरूको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन’अनुसार चालू आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा रकम उच्च रूपले बढेको पाइएको हो । 

समीक्षा अवधिमा लघुवित्त संस्थाको निष्क्रिय कर्जा अनुपात १८ अर्ब ३४ करोड रुपियाँ अर्थात् ४.६८ प्रतिशत छ । २०७९ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात २.५६ प्रतिशत  थियो । यस हिसाबले निष्क्रिय कर्जाको वृद्धिदर ८२.६२ प्रतिशत छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा १७.०३ प्रतिशत थियो । 

पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम भने असारको तुलनामा ०.०८ प्रतिशतले घटेर तीन खर्ब ९१ अर्ब ४४ करोड रुपियाँ पुगेको छ । 

खुद्राबाहेक थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको पनि निष्क्रिय कर्जाको अनुपातमा वृद्वि भएको छ । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम असारको तुलनामा ३.१७ प्रतिशतले वृद्वि भई  पुस मसान्तमा ५९ अर्ब ७८ करोड रुपियाँ पुगेको छ । 

समीक्षा अवधिमा थोक लघुवित्त वित्तीय संस्थाको कुल कर्जा तथा सापटीमध्ये निष्क्रिय कर्जा ५२ करोड रुपियाँ अर्थात् ०.८७ प्रतिशत मात्र रहेको छ । असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ०.४१ प्रतिशत रहेको थियो भने २०७८ पुस मसान्तमा यस्तो अनुपात ०.३४ प्रतिशत मात्र रहेको थियो । समीक्षा अवधिमा निष्क्रिय कर्जा १२१.०२ प्रतिशतले बढेको छ भने सक्रिय कर्जा २.६९ प्रतिशतले बढेको छ । 

कर्जा नोक्सानी पनि बढ्यो

समीक्षा अवधिमा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था बढेको छ । २०७९ पुस मसान्तमा यस्ता लघुवित्त वित्तीय संस्थाको कुल कर्जा नोक्सानी व्यवस्था २०७९ असार मसान्तको तुलनामा १६.८७ प्रतिशतले बढेर एक अर्ब २७ करोड रुपियाँ पुगेको छ । जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०७९ असार मसान्तको तुलनामा ४४.७७ प्रतिशतले वृद्वि भई २८ करोड रुपियाँ पुगेको छ । 

अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कुल कर्जा नोक्सानी व्यवस्था रकम ११.२५ प्रतिशतले बढेको थियो भने निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम १.७३ प्रतिशतले घटेको थियो ।

खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको पनि कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्थामा पनि उल्लेख्य वृद्धि भएको छ । २०७९ पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०७९ असार मसान्तको तुलनामा ३५.६२ प्रतिशतले बढेर १४ अर्ब ४० करोड रुपियाँ पुगेको छ । 

पीडितहरूको विरोध 

मङ्गलबार लघुवित्त वित्तीय संस्थाविरुद्ध माइतीघर मण्डलामा भेला भएर पीडितहरूले विरोध प्रदर्शन गरेका छन् । लघुवित्त संस्थाबाट पीडित भएको भन्दै विभिन्न जिल्लाबाट काठमाडौँ आएका पीडितहरूले मङ्गलबार संयुक्त विरोध प्रदर्शन गरेका हुन् । 

विरोध सभामा देशका ५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजपीडितहरू भेला भई संयुक्त आन्दोलन गरेको सङ्घर्ष समितिले जनाएको छ । समितिले  लघुवित्त र मिटरब्याजीले ऋण मिनाह गर्नुपर्ने, किसानलाई बिनाधितो ऋण प्रदान गर्नुपर्नेलगायतका माग अगाडि सारेका छन् ।