काठमाडौँ, मङ्सिर १५ गते । राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हालसम्म एक हजार ५८ जना बालबालिकालाई एचआइभी सङ्क्रमण भएको छ । तीमध्ये औषधी सेवन गर्ने ८५० जना छन् ।
केन्द्रका अनुसार १२७ जना गर्भवती महिला सङ्क्रमित भएको अनुमान गरिएको छ । बच्चा एचआइभी सङ्क्रमित भएर आउनेको सङ्ख्या ३३ रहेको छ । तथ्याङ्क अनुसार गत वर्ष ३७ बच्चामा सङ्क्रमण भएको थियो, जुन सन् २०१० को तुलनामा ८६ प्रतिशतले कम हो । केन्द्रका अनुसार अझै पनि दिनमा दुई जना नयाँ सङ्क्रमित थपिइरहेका छन् भने दिनमा एक जनाको एचआइभीका कारण मृत्यु भइरहेको छ ।
केन्द्रका निर्देशक डा. सर्वेश शर्माले २०२४ मा ६१४ व्यक्तिमा एचआइभीको नयाँ सङ्क्रमण अनुमान गरिएको जानकारी दिनुभयो । यो सन् २००० को तुलनामा ८९ प्रतिशतले घटेको हो । सन् २००० मा पाँच हजार छ सय व्यक्तिमा नयाँ सङ्क्रमण अनुमान गरिएको थियो । यो सन् २०१० को तुलनामा ७६ प्रतिशतले कम हो ।
हाल नेपालमा ३४ हजार ३३७ जना व्यक्तिमा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । निर्देशक डा. शर्माले अनुमानभन्दा सङ्क्रमण घटेको बताउनुभयो । उहाँले सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३३७ व्यक्तिमा एचआइभी सङ्क्रमण भएको बताउनुभयो । उहाँका अनुसार वयस्क जनसङ्ख्यामा ०.१३ प्रतिशत सङ्क्रमण रहेको छ ।
सरकारी तथ्याङ्क अनुसार कुल सङ्क्रमितमध्ये १५ वर्षभन्दा माथिका ३३ हजार २७९ जना रहेका छन् । १५ वर्षभन्दा माथिका एचआइभी सङ्क्रमित पुरुषको सङ्ख्या १९ हजार २७९ र १४ हजार जना महिला छन् । एक हजार ५८ जना एचआइभी पोजेटिभ बालबालिका छन् ।
नेपालमा एचआइभी/एड्सप्रतिको विभेद नघटेकै कारण सङ्क्रमित उपचारमा आउन सकेका छैनन् । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक शर्माले समाजमा अझै एचआइभी सङ्क्रमित व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेका कारण उनीहरू उपचारको पहुँचमा आउन नसकेको बताउनुभयो । केन्द्रका अनुसार एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेका समूह सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी पुरुष, समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारीमा बिदेसिने रहेका छन् । यीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मी उच्च जोखिममा रहेका छन् ।
सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले एचआइभी/एड्स सर्न सक्ने प्रमुख कारण असुरक्षित यौनसम्पर्क, एचआइभी सङ्क्रमित रगतको प्रयोग, रगतबाट बनेका पदार्थ तथा अङ्ग लिँदा, सुईको साझा प्रयोग, सङ्क्रमित आमाबाट बच्चामा एचआइभी सर्ने बताउनुभयो । उहाँले सधैँ सही तरिकाले कन्डम प्रयोग गरी यौनसम्पर्क राख्ने, यौनरोगका लक्षण देखापरे तुरुन्त उपचार गर्ने, आफ्नो यौनसाथीलाई पनि उपचार गराउने, रगत दिँदा सङ्क्रमण भए–नभएको पक्का गर्ने गर्दा एचआइभी/एड्सबाट बच्न सकिने बताउनुभयो ।
तथ्याङ्क अनुसार मृत्युमा पनि कमी आएको छ । डा. शर्मा भन्नुहुन्छ, “सन् २०२४ मा मात्रै ५६९ जना व्यक्ति एड्सका कारण मृत्यु हुने अनुमान थियो । सन् २०१० को तुलनामा मृत्युदर ७६ प्रतिशतले कम हो । सन् २०१० मा दुई हजार चार सय व्यक्तिको एड्सका कारण मृत्यु भएको थियो ।”
सन् २०२४ को अन्त्यसम्ममा देशभर २६ हजार ३७२ जना सङ्क्रमितले एन्टिरेट्रोभाइरल उपचार लिइरहेका छन् । अनुमानित कुल एचआइभी सङ्क्रमितमध्ये ७७ प्रतिशत उपचारमा छन् ।
निर्देशक डा. शर्माका अनुसार नेपालमा सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने लक्ष्य हासिल गर्न ९५–९५–९५ लक्ष्य लिइएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र, एचआइभी, हेपाटाइटिस तथा यौनरोगका लागि आवश्यक बजेट तथा कार्यक्रम पर्याप्त नहुँदा प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको निर्देशक शर्माले बताउनुभयो ।