• ११ मंसिर २०८१, मङ्गलबार

प्रतिभावान खेलाडीलाई टोलीमा समेट्छु : प्रशिक्षक भिन्सेन्जो

blog

सार्वजनिक कार्यक्रममा आफ्नो धारणा राख्दै फुटबल टोलीका नवनियुक्त प्रशिक्षका भिन्सेन्जो अल्बर्टो एनेस । तस्बिर : एन्फा

काठमाडौं, फागुन ३० गते । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षका भिन्सेन्जो अल्बर्टो एनेसले नेपालमा भएको खेलाडीलाई समेट्दै राष्ट्रिय टोलीको निर्माण गर्ने बताउनुभएको छ । 

मङ्गलबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रशिक्षक सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा इटालियन प्रशिक्षका भिन्सेन्जो अल्बर्टो एनेसले चलिरहेको शहीद स्मारक ‘ए’ डिभिजन लिग र विगतका खेलबाट उनीहरुले गरेको प्रदर्शनको आधारमा टिम निर्माण गर्ने बताउनुभएको हो । 

राष्ट्रिय टोलीका अधिकांश खेलाडी पलायन भएको अवस्थामा टोली सम्हाल्न नेपाल आउनुभएका भिन्सेन्जोले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग र विगतका प्रतियोगितामा खेलेका खेलाडीलाई समेट्दै टोली बनाउने बताउनुभयो ।

प्रशिक्षक भिन्सेन्जोले प्रशिक्षक बन्नका लागि अवसर खोजिरहेको र तीन वर्षदेखि नेपाली फुटबल पछ्याइरहेकाले नेपाली आउन चाहेको बताउनुभयो । उहाँले भारतीय आई लिगमा नेपाली खेलाडीको प्रतिभा देखेको र चलिरहेको ‘ए’ डिभिजन लिगमा पनि आफू सम्भावना बोकेका खेलाडी भेटेको  बताउनुभयो ।

यस्तै राष्ट्रिय टोलीका केही खेलाडीहरु विदेश गएको अवस्थामा कसरी टोली निमार्ण गनुहुन्छ भन्ने प्रश्नमा प्रशिक्षक भिन्सेन्जोले टिम बनाउँदा सम्पूर्ण रुपमा नयाँ नसकिने र एकै पटक धेरै नयाँ खेलाडीलाई मात्र समेटेर बनाउन कठिन हुने बताउनुभयो ।

उहाँले विदेश गएका खेलाडीसँग सम्पर्क गर्ने प्रयास गर्ने समेत बताउनुभयो । प्रशिक्षक भिन्सेन्जोले नेपाल आउनुको लक्ष्य धेरै खेलमा नेपाललाई सुखद नतिजा दिलाउने र नेपालले विगतमा हासिल गर्न नसकेको सफलता दिलाउँदै करियर सुधार गर्ने लक्ष्य रहेको बताउनुभयो ।

प्रशिक्षक भिन्सेन्जोको प्रशिक्षणमा नेपालले पहिलो घरेलु मैदानमा नेपाल, लाओस र भुटान सम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । प्रशिक्षक भिन्सेन्चोलाई एन्फाले मासिक तलबबाहेक खानेबस्ने र आउने जाने व्यवस्था गरेको गरेको छ ।

प्रशिक्षकका लागि आवश्यक पर्ने बजेट हालका लागि एन्फाको आन्तरिक स्रोतबाट व्यवस्था गरिएको बताइएको छ । प्रशिक्षका सम्झौता एक वर्षका लागि गरिएको हो ।