काठमाडौं, फागुन ३० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रशासनिक क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताउनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय मातहतका कार्यालयको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताउनुभएको हो।
“प्रशासनिक क्षेत्रमा विद्यमान समस्या समाधानका निम्ति सरकारले गम्भीर पहल गर्ने तयारी गरिरहेको छ। यसको समाधानमा हामीले विलम्ब गर्नु हुँदैन”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कर्मचारी प्रशासन र जनअपेक्षाबीच ठूलो खाडल छ। बदलिँदो परिस्थिति, लोकतान्त्रिक प्रणाली र जनअपेक्षा सम्बोधन गर्ने गरी आयोग गठनको तयारी गरिएको छ। केही समयभित्रै आयोग बन्छ। त्यसको नेतृत्व प्रधानमन्त्रीले नै गर्ने व्यवस्था गर्न खोजिएको छ। आयोगमा विज्ञ रहने व्यवस्था गरिनेछ।”
ओभरस्टाफिङ कटौती गर्छौं
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कर्मचारी प्रशासनमा ओभरस्टाफिङ कटौती गरिने बताउनुभयो। उहाँले भन्नुभयो, “ओभरस्टाफिङको समस्या छ। डुल्बिलेकशनको समस्या छ। अनावश्यक संरचना छन्। तिनीहरू कटौती गरेर प्रशासनयन्त्र चुस्त बनाउनुपर्छ। त्यसका लागि आयोग गठन आवश्यक छ।”
आयोगको अन्तिम प्रतिवेदन कुरेर कार्यान्वयनमा जान समय नभएको उहाँको भनाइ छ। प्रधानमन्त्रीले भन्नुभयो, “आयोगले काम गर्दै पनि जाने, दिएका सुझावहरू कार्यान्वयन पनि गर्दै जाने व्यवस्था गर्नुपर्छ। अन्तिम प्रतिवेदन आएपछि मात्र कार्यान्वयन जाने समय हामीसँग छैन, अनुसन्धान पनि गर्दै जाने, काम पनि गर्दै जाने विधि अपनाउनुपर्छ।”
सरकारको नेतृत्व तलमाथि हुँदैन
सम्बोधनका क्रममा प्रधानमन्त्रीले वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने बताउनुभयो। उहाँले भन्नुभयो, “मैले नेपाल सरकारका सचिवलाई दिएको निर्देशन, संसदमा गरेको सम्बोधन र नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा मैले जेजति कुरा भनेको छु। तिनीहरू फेरिँदैनन्। कर्मचारी प्रशासनले पनि ती विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्दछ।”
प्रधानमन्त्री प्रचण्डले सरकारको प्राथमिकतामा सामाजिक न्याय, सुशासन र समृद्धि रहेको उल्लेख गर्नुभयो। ‘‘मन्त्रीहरू फेरिनुहुन्छ, तर सरकारको नीतिगत प्राथमिकता फेरिँदैन, त्यसैले आफ्नो काममा दत्तचित्त भएर लाग्नुस्, परिणाम दिनुस्”, उहाँले भन्नुभयो।