काठमाडौं, फागुन ३० गते । नेपालमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनामध्ये पाँच वटा आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने समयसीमा रहेको छ । तर तोकिएको समयसीमाभित्र आयोजनाहरु सम्पन्न हुने सम्भावना छैन ।
आर्थिक बर्ष २०७३-०७४ बाट सुरु भएको सुनकोशी मरिन डाइभर्सन आयोजना, आ.व. २०६७-०६८ बाट सुरु भएको रानी जमरा कुलेरिया सिँचाइ आयोजना, आव २०६६-०६७ बाट सुरु भएको हुलाकी राजमार्ग आयोजना, आ.व. २०७३-०७४ बाट सुरु भएको काठमाडौं तराइ मधेश द्रुतमार्ग आयोजना र आ.व. २०६९-०७० बाट सुरु भएको लुम्बिनी विकास आयोजना आ.व. २०८०-०८१ मा सम्पन्न हुने लक्ष्य छ । यी आयोजनाहरुको तोकिएको समयसीमा सकिएको छ ।
मेलम्ची खानेपानी आयोजनाको निर्माण अवधि पनि आगामी आर्थिक वर्षमै सक्ने लक्ष रहेको थियो । यो आयोजना भने सम्पन्न भइसकेको छ । तर सबै आयोजनाको अहिलेको प्रगति हेर्दा सम्पन्न निर्धारित मितिमा सम्पन्न हुने कुनै सम्भावना छैन । अधिकांश आयोजनाको बजेट अभावका कारण काम ढिलाइ भएको जनाएका छन् । महालेखा परिक्षकको प्रतिवेदनअनुसार पाँच आयोजनामध्ये सबैभन्दा बढी भौतिक प्रगति भएको आयोजना लुम्बिनी क्षेत्र विकास कोष हो । जुन ८६ प्रतिशत काम सम्पन्न भएको छ । यो आयोजनाको निर्माण सक्न थप एक वर्ष लाग्ने देखिएको छ ।
सुनकोशी मरिन डाइभर्सन आयोजना
आर्थक वर्ष २०७३-०७४ बाट सुरु भएको सुनकोशी मरिन डाइभर्सन आयोजनाको वित्तीय तथा भौतिक प्रगति ७ दशमलव ५७ प्रतिशत छ ।
४६ अर्ब १९ करोड लागत अनुमान रहेको यस आयोजनाको प्रगति भने निराशाजनक देखिएको छ । हालसम्म यो आयोजनामा तीन अर्ब ४९ करोड खर्च भएको छ । चालू आर्थिक वर्ष २०७९ ८० मा यस आयोजनाका लागि २ अर्ब ४६ करोड बजेट विनियोजन भएको छ ।
बागमती सिंचाइ आयोजनाबाट सिंचाइ भइरहेको रौतहट र सर्लाहीको ४५ हजार ६ सय हेक्टर र बारा, रौतहट, धनुषा र सर्लाहीको १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिंचाइ पु¥याउने आयोजनाको उद्देश्य छ । यसबाट ३१ दशमलव ०७ मेगावाट विद्युत उत्पादन गर्ने उद्देश्य लिइएको छ ।
रानी जमरा कुलेरिया सिँचाइ आयोजना
आर्थिक बर्ष २०६७-०६८ देखि सुरु भएको रानी जमरा कुलेरिया सिँचाइ आयोजनाको भौतिब प्रगति ५८ दशमलव ७ प्रतिशत भएको छ भने वित्तिय प्रगति ५८ दशमलव ५ प्रतिशत भएको छ ।
१२ अर्ब ३७ करोड लागत अनुमान रहेको यस आयोजनाको लागत बढेर २७ अर्ब ५२ करोड पुगेको छ । यस आयोजनाका लागि चालू आर्थिक वर्षमा २ अर्ब ३५ करोड रकम विनियोजन गरिएको छ ।
यस आयोजनामा हालसम्म १६ अर्ब २० करोड खर्च भएको छ ।
रानी जमरा कुलरिया सिंचाइ प्रणाली कृषकबाट निर्माण गरी कृषकहरुद्वारा व्यवस्थापन गरिएको नेपालको सबैभन्दा ठूलो सिंचाइ प्रणाली हो । यस प्रणालीको पानीको स्राेत कर्णाली नदी हाे । रानी जमरा कुलरिया सिंचाइ प्रणाली अन्तरगत ३ वटा सिंचाइ कुलाहरु रानी, जमरा र कुलरिया कुलो समावेश गरी नामकरण भएको छ ।
यस प्रणालीकै दक्षिणी भागमा सिंचाइ गर्न रानी कुलो, मध्यभागमा जमरा कुलो र उत्तरी भागमा सिंचाइ गर्न कुलरिया कुलो व्यवस्था भएको देखिन्छ । यी कुलाहरुको व्यवस्थापन गर्न आ– आफ्नो प्रणालीको जल उपभोक्ता संस्था (कुलो संस्था) रहेको र यी तिनै प्रणालीको संयुक्त व्यवस्थापन तथा समन्वयको लागी रानी जमरा कुलरिया जल उपभोक्ता संस्था (मूल समिति) छ । प्राप्त तथ्याङ्कको आधारमा रानी जमरा तथा कुलरिया सिंचाइ कुलाहरुको हालको सिंचित क्षेत्रफल १० हजार ९६४ हेक्टर देखिन्छ ।
काठमाडौं तराई-मधेश द्रुतमार्ग
आर्थिक वर्ष २०७३ ७४ देखि सुरु भएको काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति २१.१८ प्रतिशत भएको छ भने वित्तीय प्रगति १९.१८ प्रतिशत भएको छ ।
हालसम्म यस आयोजनामा ३४ अर्ब २९ करोड खर्च भएको छ । चालू आर्थिक वर्षमा यस आयोजनाका लागि ८ अर्ब ९२ करोड बजेट खर्च भएको छ ।
एक खर्ब १६ अर्ब लागत अनुमान रहेको यस आयोाजनाको लागत अनुमान बढेर एक खर्ब ७५ अर्ब १९ करोड पुगेको छ । यो आयोजना तराई र काठमाडौं जोड्ने छोटो मार्ग भएकाले यसलाई व्यापारिक दृष्टिकोणले महत्वका साथ हेर्ने गरिएको छ ।
हुलाकी लोकमार्ग
आर्थिक वर्ष २०६६ ६७ देखि निर्माण सुरु भएको हुलाकी लोकमार्गको भौतिक प्रगति ८०.९ प्रतिशत र वित्तीय प्रगति ८०.३ प्रतिशत भएको छ । हालसम्म यस आयोजनामा ५२ अर्ब १८ करोड रकम खर्च भएको छ ।
सुरुमा ४७ अर्ब २४ करोड लागत अनुमान रहेको यस आयोजनाको लागत बढेर ६५ अर्ब २० करोड पुगेको छ । चालू आर्थिक बर्षमा यस आयोजनाका लागि ८ अर्ब २३ करोड रकम विनियोजन गरेको छ ।
नेपालको पूर्व पश्चिम हुँदै तराईका बस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिएको हुलाकी लोकमार्ग आयोजनाले पूर्वमा झापा केचनाकवलदेखि पश्चिममा कंचनपुर दोधारा चाँदनीसम्मको भूभागलाई जोड्नेछ ।
लुम्बिनी विकास कोष आयोजना
आर्थिक वर्ष २०६९ ७० देखि सुरु भएको लुम्बिनी विकास कोष आयोजनाको भौतिक प्रगति ८७ प्रतिशत र वित्तीय प्रगति ५२.९४ प्रतिशत भएको छ । यस आयोजनाका लागि चालू आर्थिक वर्षमा एक अर्ब ५० करोड रकम विनियोजन भएको छ ।
सञ्चालनमा आउँदा ५ अर्ब ५५ करोड लागत अनुमान रहेको यस आयोजनाको लागत बढेर १३ अर्ब २६ करोड पुगेको छ । हालसम्म यस आयोजनामा ७ अर्ब २ करोड रकम खर्च भएको छ ।
भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको विकास गर्ने लक्ष्य र आदर्शलाई बढी प्रभावकारी बनाउने उद्देश्यका साथ यो आयोना सञ्चालनमा ल्याइएको हो ।