• १५ कात्तिक २०८२, शनिबार

लगातारको झरीले एकादशी मेला प्रभावित

blog

बोमलाल गिरी
नवलपुर, कात्तिक १५ गते ।
लगातार तीनदेखि परिरहेको झरीका कारण नवलपुरका विभिन्न स्थानमा लाग्ने एकादशी मेला प्रभावित भएको छ ।

उल्लेख्य सङ्ख्यामा भक्तजनहरुको भिड लाग्ने गरेको कावासोती–११ को पिठौली र गड्गडीघाट, कावासोती–१५ को गुन्द्रही र बाणखोलाको संगमस्थल, देवचुलीको केउरेनीस्थित नारायाणी नदी किनार र बौदीकालिको डेढगाउँमा रहेको बालिघाटनमा यो वर्ष भक्तजनको सङ्ख्यामा कमी आएको हो ।

वर्षाका कारण स्थानीय मेला व्यवस्थापन समिति, युवा क्लब, टोल सुधार संस्थाहरुले व्यवस्थापन गरेको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांस्कृतिक प्रस्तुती रहने कार्यक्रमहरु पनि प्रभावित भएका छन् ।

तरुल, सखरखण्ड, सुन्तला, थारु जातिका चिचर र माछाका परिकार जस्ता स्थानीय खाद्य सामग्री बेचबिखन हुने मेलामा गत वर्ष जस्तो रौनक नदेखिएको व्यपारीहरुले बताएका छन् ।

मेलामा सुन्तलाको व्यापार बढि हुने अपेक्षाले टिपिएका सुन्तला बिक्रीमा ह्रास आउने देखिएको बौदिकालीका सुन्तला व्यपारी रिमबहादुर थापाले बताउनुभयो ।

जिल्लाको विभिन्न स्थानमा नारायणी नदी किनारमा लागेका मेलामा तुलसी विवाह, तोरण तार्ने जस्ता धार्मीक अनुष्ठानहरु पनि आयोजना गरिएका पर्वत कावासोती सम्पर्क समाजका नगर संयोजक मित्रलाल न्यौपानेले बताउनुभयो ।

वर्षमा पर्ने २४ वटा एकादशीमध्ये महत्त्वपूर्ण एकादशीको रूपमा हरिबोधनी एकादशीलाई लिइन्छ । त्यसैले यसलाई ठुली एकादशी पनि भनिन्छ । एकादशीका दिन नारायणी नदीमा स्नान गर्नाले पुण्य मिल्ने जन विश्वास रहेको पण्डित रिमप्रसाद आचार्यले बताउनुभयो ।

हरिशयनी एकादशीको दिन घरघरमा रोपिएको तुलसीलाई शनिबार विशेष पूजा गरी विवाह गरिदिने परम्परा छ । आजको दिन घरघरमा तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेतो, रातो, पहेँलो वस्त्र तथा फूलमालाले सिङ्गारेर भगवान् विष्णुको प्रतीकको रूपमा निगालो गाडी तुलसीको विवाह गरिन्छ । भगवान् विष्णु प्रशन्न हुने विश्वासका साथ आज फलाहार मात्र लिई र राति जाग्राम बसेर हरि नाम संकीर्तन गर्ने प्रचलन रहेको छ ।