• १० मंसिर २०८१, सोमबार

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्षबीच भेटवार्ता

blog

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँगभेटवार्ता गर्नुहुँदै वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्थाका उपाध्यक्ष झाङ शाओगाङ । तस्बिर : मन्त्री श्रेष्ठको निजी सचिवालय

काठमाडौं, फागुन २९ गते । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड’ का उपाध्यक्ष झाङ शाओगाङबीच सोमबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको थियो । त्यसक्रममा उपाध्यक्ष झाङलाई नेपालमा स्वागत गर्दै र भ्रमण सफलताको शुभकामना दिनुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले चीन नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय व्यापार साझेदार मुलुक रहेको र नेपालमा लगानीमैत्री वातावरण भएकोले चिनियाँ लगानीको सधैँ स्वागत गरिने बताउनुभयो ।

केरुङ र तातोपानी नाका व्यवस्थित बनाएर आयात तथा निर्यातलाई समेत सहज गर्नुपर्ने आवश्यकता उपप्रधानमन्त्री श्रेष्ठले औँल्याउनुभयो । चीन नेपालको दोस्रो व्यापारिक साझेदार मुलुक रहेको र चीन नेपाल व्यापार घाटा धेरै भएकाले त्यसलाई घटाउन आपसी समझदारीका आधारमा अघि बढ्नु पर्ने आवश्यकता औंल्यानुभयो ।

नेपालको एक चीन नीतिप्रतिको दृढता श्रेष्ठले दोहोर्‍याउनुभयो। तेस्रो कार्यकालका लागि निर्वाचित चिनियाँ राष्ट्रपति सी जिनपिङ र नवनिर्वाचित प्रधानमन्त्री ली छ्याङलाई बधाइ दिनुहुँदै कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

त्यसक्रममा उपाध्यक्ष झाङले झण्डै चार वर्ष लामो कोभिड सङ्क्रमणले चीनको वैदेशिक लगानी तथा व्यापारमा असर परेपनि चीन अब कोभिडबाट खुल्ला भएकोले सहजता भएको बताउनुभयो । कोभिट्का कारण चीन र नेपालको बीच भ्रमण आदानप्रदान  हुन नपाएको र त्यसबाट व्यापारमा समेत असर परेको बताउनु भयो । नेपाल आफुसहरूको पुरानो र नजिकको मित्र भएको र नेपालमा थप लगानीको निश्चितता गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको उहाँले बताउनुभयो ।

झाङले नेपालले ठूलो प्रविधियुक्त उद्योग–निर्माणको सोच बनाए त्यसमा चीनले खुलेर साथ दिने बताउनुभयो । उपमन्त्री तहका चिनियाँ अधिकारी झाङ नेपालका लागि चिनियाँ राजदूत छन् सोङ सहित शिष्टाचार भेटवार्तामा आउनुभएको थियो ।