• १३ मंसिर २०८१, बिहिबार

दलित बस्तीमा पानीको हाहाकार

blog

चित्र मिजार

सिन्धुपाल्चोक, फागुन २९ गते । सुक्खायाम नलाग्दै सिन्धुपाल्चोकका दलित बस्तीमा खानेपानीको हाहाकार भएको छ। वर्षौंदेखि खानेपानीको हाहाकार भएपछि दलित समुदायमा स्वास्थ्य समस्यासमेत देखा पर्ने गरेको छ।

सुनकोशी गाउँपालिका–४, यमुनाडाँडाका मिजारटोल, नेपाली टोल, विक टोलमा वर्षौंदेखि खानेपानी र अन्य उपभोगका लागि पानीको चरम अभाव छ। उक्त स्थानमा सयभन्दा बढी घरधुरी दलित समुदायको बसोबास रहेको छ। बलेफी गाउँपालिका–५, विन्ज्यालका डेढ सय घरधुरीका दलित समुदायले वर्षौंदेखि खानेपानी उपभोग गर्न पाएका छैनन्। एक गाग्रो पानी ल्याउन पनि डेढ घण्टाभन्दा बढी समय लगाएर ल्याउनुपर्ने समस्या भोग्दै आएको उक्त स्थानकी विष्णुमाया नेपालीले पीडा सुनाउनुभयो।

सिन्धुपाल्चोकको तीन नगरपालिका र नौ गाउँपालिकाका १०३ वडामा बसोबास गर्ने दलित समुदायले वर्षौंदेखि खानेपानी समस्या भोग्दै आएका छन्। घण्टौँ समय खर्चेर खोला, खोल्सी, कुवा, पँधेरोबाट दलित समुदायले पानी बोकेर वर्षौं बितेको छ। सिन्धुपाल्चोकका स्थानीय तहले दलित बस्तीमा खानेपानी समस्या समाधानमा ध्यान पु-याउन नसकेको गुनासो स्थानीय बासिन्दाले गर्न थालेका छन्। बर्सेनिको योजना तर्जुमा, बजेट विनियोजनमा दलित समुदायको बस्तीमा खानेपानी धारा निर्माणका योजना पर्ने गरेका छैनन्। 

जिल्लामा खानेपानीसम्बन्धी काम गर्ने विभिन्न सङ्घ/संस्थाले पनि दलित बस्तीमा खानेपानी पु-याउनका लागि काम गरेका छैनन्। जिल्लाका ३० हजारभन्दा बढी दलित समुदाय अहिले पनि पँधेरो, कुवा, खोल्साखोल्सीकै भरमा खानेपानी उपभोग गरिरहनु परेको छ।

फोहोर पानी उपभोग गर्ने गरेका कारणले विभिन्न स्वास्थ्य समस्या देखा पर्दै आएका छन्। पानीको अभावमा घरआँगन फोहोर र दुर्गन्धित छन्। पानी नहुँदा दैनिकी अति कष्टकर भएको सुनकोशी गाउँपालिका–४, यमुनाडाँडाकी ७५ वर्षीया सुन्तली सार्कीले पीडा सुनाउनुभयो। दलित समुदायले उपभोग गर्दै आएका पँधेरो, कुवा, खोल्सी पनि २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पका कारण सुकेका छन्। त्यस कारण एक गाग्रो पानी ल्याउन पनि उनीहरू पानी पाउने धारा र खोला धाउनु पर्ने समस्या छ।