• २८ मङ्सिर २०८२, आइतबार

विनेश र संयोग फाइनलमा

blog

पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्दै विनेश खनियाँ । तस्बिर : राखेप

काठमाडौं, फागुन २८ गते । नेपाल प्रहरीकाद्वय विनेश खनियाँ र संयोग कपाली १२औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुलातर्फ पुरुष सिंगल्समा आइतबार फाइनलमा प्रवेश गर्नुभएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा विनेशले गल्कोपाखाका चन्दन शाहीलाई ५–११, १४–१२, ११–७, ११–३, ११–५ तथा संयोगले एभीएम टेबलटेनिस क्लबका रुविन महर्जनलाई ११–५, ५–११, ११–७, ११–४, ११–४ को सेटमा पराजित गर्नुभयो । 

प्रतियोगिताको महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ र रविना महर्जन फाइनलमा पुग्नुभएको छ । प्रहरीकी नविताले आफ्नै क्लबकी यशस्वी अवाललाई ११–५, ११–७, ११–३, ११–३ तथा सौभाग्य ज्वेलर्सकी रविनाले प्रहरीकी मन्जु सुवाललाई ११–९, ११–७, ५–११, ११–७, ११–७ को सेटमा हराउनुभयो । 

भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा गल्कोपाखाका चन्दन पहिलो हुनुभयो । फाइनलमा उहाँले गोड स्पिन टेबलटेनिस क्लबका मुकेश महर्जनलाई ११–६, ११–७, ११–९ को सोझो सेटमा हराउनुभयो । 

व्हीलचेयरको पुरुष सिंगल्समा अर्पण चुनाराले फाइनलमा वरुण मगरलाई सीधा सेटमा ११–८, ११–३, ११–५ ले पाखा लगाउँदै पहिलो हुनुभयो । उक्त स्पर्धाको महिलामा लाली तामाङले शीर्ष स्थान हात पार्नुभयो । स्टेन्डिङको पुरुष सिंगल्समा विवेक राईले शिव थापालाई ११–२, ११–४, ११–५ ले पराजित गर्दै पहिलो हुनुभयो । 

सोही स्पर्धाको महिलामा पूजा सोतीले फाइनलमा अनु थापालाई ११–७, ११–५, ११–९ ले हराउँदै पहिलो स्थान हात पार्नुभयो । पुरुष खुला टिम इभेन्टमा प्रहरीले फाइनलमा एभीएमलाई ३–० ले पाखा लगाउँदै च्याम्पियन बन्यो । प्रतियोगिता सोमबारसम्म चल्नेछ ।