शान्तिपुर गाउँमा एउटा गरिब किसानको परिवारमा आमाबुवा र दुईवटा छोरा माने र साने बस्ने गर्थे । धेरै गरिब परिवार भएकाले आफ्नो छोराहरूको शिक्षादीक्षाको लागि आमाबुवा अप्ठ्यारो बाटो भीरपाखा र डरलाग्दा पहाडहरू पार गरेर सहरबाट नुन बोकेर आफ्नो गाउँमा व्यापार गर्थे । त्यसै क्रममा भीरबाट खसेर एक दिन आमाबुवाको मृत्यु भयो । र सहाराविहीन भए । त्यसपछि आफ्नो पालनकर्ता नभएकाले दुवै भाइहरू गाउँ नै छोडेर सहरतिरै लागेछन् । मानेले आफूले ज्यालादारी गरेर भए पनि भाइलाई पढाउने प्रतिज्ञा गरेछ ।
त्यसपछि मानेले धेरै सङ्घर्ष गर्दै गए । उसले आफूले दुःख गरे पनि आफ्नो भाइ सानेलाई पढाउँदै गएछ । समय बित्दै गयो । मानेले आफ्नो भाइलाई एउटा जिम्मेवार र विज्ञ डाक्टर बनाएछ । त्यसपछि दुवै जना नै स्वर्गीय आमाबुवाको सम्मानमा खुसीसाथ जीवनयापन गर्न थालेछन् ।
यसरी जस्तोसुकै आपत्विपत् आइपरे पनि मानिसले सहन गरेर सङ्घर्ष गर्दै गयो भने एकदिन अवश्य सफलता हासिल गर्न सकिन्छ ।