• १० मंसिर २०८१, सोमबार

व्यापार रणनीतिको दिशा

blog

मुलुकको वैदेशिक व्यापारको तस्बिर राम्रो छैन । आयात निरन्तर बढ्दो छ भने निर्यात बढ्न सकेको छैन । आयात र निर्यातबीच निकै ठूलो खाडल रहँदै आएको छ । बर्सेनि आयातको आयतनमा वृद्धि हुँदै गएको छ भने निर्यातको आँकडामा सोहीअनुरूप वृद्धि हुन सकेको पाइँदैन, बरु असाध्य न्यून छ । त्यसैले कुल गार्हस्थ्य उत्पादनमा निर्यात व्यापार बढाउने लक्ष्य पनि महत्त्वपूर्ण हुन आउँछ । यस अर्थमा निर्यात व्यापारलाई हरसम्भव प्रयत्नसहित वृद्धि गर्नु अति महत्त्वपूर्ण पक्ष हो र यस दिशातिर गरिने पहल धेरै महत्त्वपूर्ण हुन्छ । हाल नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा वस्तु तथा सेवाको अनुपात ६ दशमलव ३ प्रतिशत रहेको छ । यस सन्दर्भमा आयातको तुलनामा निर्यात अनुपात बढाएर २० प्रतिशत पु¥याउने लक्ष्यसहित नयाँ व्यापार रणनीति सार्वजनिक भएको छ । यसैगरी जीडीपीमा हाल ४८ दशमलव १ प्रतिशत रहेको कुल व्यापार क्षेत्रको अनुपात बढाएर ५५ प्रतिशत पु¥याउने लक्ष्य पनि रणनीतिले लिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा तयार गरिएको यो रणनीति मन्त्रिपरिषद्द्वारा स्वीकृत गरिएपछि नेपाल व्यापार एकीकृत रणनीति, २०७९ कार्यान्वयनमा आउने योजना छ । 


रणनीतिमा निर्यातका सम्भावना बढी भएका कृषिजन्य वस्तु, तरकारी, फलफूल, सुगन्धित तेल, सिमेन्ट, प्रशोधित पानी, हाते कागज, कफी आदि वस्तु समावेश गरिएको छ । यसैगरी सेवा क्षेत्रतर्फ पर्यटन, जलविद्युत् तथा सूचनाप्रविधि क्षेत्रलाई प्राथमिकताको सूचीमा राखिएको पाइन्छ । व्यापार सहयोगी पूर्वाधार, संरचना, प्रक्रियाका साथै नियामक वातावरण र व्यापार सुधार गर्ने, प्रतिस्पर्धी वस्तु तथा सेवाको विकास र निर्यात बजारको विस्तार गर्ने मुख्य उद्देश्य रहेको छ । रणनीतिमा भन्सार निर्धारणलाई महत्त्वपूर्ण मानिएको छ । नयाँ निर्यात वस्तुलाई नगद अनुदान दिने व्यवस्थासमेत गरिएको छ । यसैगरी गुणस्तर पूर्वाधार सुधारमा जोड दिइएको छ । औद्योगिक उत्पादनको गुणस्तर मापदण्डलगायतका विषयलाई समेत समेटेर व्यापक बनाइएको छ । विगतको रणनीतिभन्दा यस रणनीतिमा व्यापार पूर्वाधारमा लगानी गर्ने सम्बन्धमा नयाँ विषयसमेत थपिएको छ । निर्यात सम्भावना सक्दो खोजी गर्ने प्रयास गरिएको छ । निर्यात व्यापारका चुनौती चिनेर समाधानको उपाय निकाल्न रणनीतिले प्रयास गर्नेछ । वस्तु तथा सेवाको निर्यात बढाएर व्यापार घाटा कम गर्ने प्रमुख लक्ष्य रणनीतिले लिएबाट व्यापारमा सुधार आउने अपेक्षा गर्न सकिन्छ ।


नयाँ व्यापार रणनीतिले निर्यात व्यापारलाई जीडीपीको २० प्रतिशत पु-याउने लक्ष्यसहित निर्यात प्रवद्र्धनको नीति महत्त्वपूर्ण छ । त्यसनिम्ति नयाँ निर्यात वस्तुलाई प्रोत्साहन नगरी हुँदैन र त्यस क्रममा उत्पादनलाई प्राथमिकता दिनु जरुरी छ । व्यापार पूर्वाधारमा लगानी नियामकीय वातावरणमा सुधारजस्ता विषयवस्तुलाई प्रमुखतासाथ उठाउनु सकारात्मक पक्ष हो । यसबाट मुलुकको निर्यात व्यापारमा निश्चित रूपमा अनुकूल प्रभाव पर्ने सम्भावना बढी देखिन्छ । यही रणनीतिअनुरूप निर्यात व्यापारयोग्य स्वदेशी वस्तु उत्पादनमा प्रश्रय दिन सकिएमा आयात प्रतिस्थापन हुन सक्नेछ । वैदेशिक मुद्राको सञ्चिति तथा रोजगार प्रवद्र्धनमा निकै सहयोगी भूमिका निर्वाह गर्नेमा विश्वस्त हुन सकिन्छ तर त्यसनिम्ति रणनीतिको प्रभावकारी कार्यान्वयन वाञ्छनीय छ । 


कृषिजन्य उत्पादन, तरकारीजस्ता वस्तु निर्यातमा रणनीतिले जोड दिएको सन्दर्भमा नेपालले बर्सेनि करोडौँ रुपियाँ बराबरका यस्ता वस्तु आयातमा खर्चिरेहेको अवस्था छ । यस दृष्टिकोणबाट रणनीति अलि बढी महत्त्वाकाङ्क्षी भए पनि कार्यान्वयन हुन सके असम्भव छैन । स्वदेशमा नै यी वस्तुको उत्पादन पर्याप्त रूपमा गर्न सकिए तथा आयात गर्न गर्नुपर्ने अवस्था सिर्जना नभए नै ठूलो उपलब्धिको विषय हुन सक्छ । यस अवस्थामा यस्ता वस्तुको निर्यात प्राथमिकता अति महत्त्वाकाङ्क्षी पक्ष हुनु स्वाभाविक हुन सक्छ । समग्रमा रणनीति निर्यात व्यापारका निम्ति उत्साहप्रद देखिए पनि यसको कार्यान्वयन पक्षले प्रभावकारीमा प्रतिफलयोग्य पार्ने देखिन्छ । विगतको रणनीति कार्यान्वयन हुन नसक्नुमा प्रभावकारी कार्यान्वयनको अभाव नै थियो । नयाँ रणनीति कार्यान्वयन गर्ने संयन्त्र, अनुगमन तथा मूल्याङ्कन प्रणाली पर्याप्त स्रोतसाधनबिना सफल हुन नसक्ने विज्ञको भनाइलाई पनि मननीय मान्नुपर्दछ । सबल कार्यान्वयन गर्न सकिए स्वनिर्भर अर्थतन्त्र निर्माणमा कोसेढुङ्गा हुन सक्छ । विगतमा कुनै पनि नीति र रणनीति बनाउँदा उत्साह देखिए पनि त्यसको कार्यान्वयनमा भने समस्या आउने गरेको पाइन्छ । त्यस्तो अब दोहोरिनु हुँदैन ।