• ८ वैशाख २०८१, शनिबार

तेरमी पर्व मनाउँदै मार्फाली थकाली समुदाय

blog

अमृतप्रसाद पौडेल

मुस्ताङ, फागुन २७ गते । मुस्ताङको चर्चित ठाउँ मार्फामा बसोबास गर्ने थकालीहरूको महत्त्वपूर्ण पर्व ‘तेरमी’ बुधबारदेखि मुस्ताङमा चलेको छ । मुस्ताङको मार्फा क्षेत्रमा बसोबास गर्ने थकाली समुदायले यो पर्व सात दिन सम्म मनाउने गर्छन् । पहिलो दिन भेटघाट भएपछि अन्य छ दिनसम्म हुने कार्यक्रममा मुख्य रूपमा अन्य गतिविधि अन्तर्गत युवाको दुई समूह भाले(फो) र पोथी(म्हो) समूह बनाएर तारा खेल(आर्चरी) खेल्ने गरिन्छ । थकाली समुदायअन्तर्गत थाकखोला क्षेत्रमा बसोबास गर्ने र अन्य थकाली समुदायले पनि ‘तोरन्ल’ र ‘त्युङ्ला’ पर्व मनाउने गर्दछन् । 

फागु पूर्णिमाकै वरपर मनाइने यस्ता पर्वहरूको आ–आफ्नै तबरले व्याख्या गरिने भएपनि तरेमी पर्वलाई मार्फा क्षेत्रमा निकै महत्त्व दिने गरिन्छ । तेरमी, तोरन्ल र त्युङ्ला पर्वको शाब्दिक अर्थ करिब उस्तै भएपनि मनाउने तरिका र विधि केही फरक रहेको मार्फाका युवा दीपक लालचनको भनाइ छ ।

मुस्ताङ जिल्लाको कागबेनीदेखि तल घाँसादेखि माथिको क्षेत्रलाई सामान्यतया थाकखोला भनिन्छ । हिन्दु धर्मावलम्बीहरूले विश्वभर फागु पूर्णिमा मनाउँदै गर्दा थाक क्षेत्रका थकालीले भने तरेमी, तोरन्ल, तथा त्युङ्ला पर्व मनाउने गरेको लालचनले बताउनुभयो ।

स्थानीय शक्तिलाल ज्वारचनका अनुसार पहिलो दिन भेटघाट मात्रै हुने र त्यस पछिका छ दिन तारा खेल तथा नाच गान गरेर मनाउने गरिन्छ । फागु पूर्णिमाको दिनबाट सुरु भएको पर्व सप्तमीमा सकिने उहाँको भनाइ छ । 

तारा खेल, गीत तथा अन्य नृत्य र भोजका लागि सामूहिकता नै हुने ज्वारचनको भनाइ छ । समग्र थकालीहरूले तोरन्ल पर्व मनाए जस्तै गरी मार्फा क्षेत्रमा बसोबास गर्ने तथा जन्मेका थकाली समुदायको पर्व तेरमी वसन्त ऋतुको आगमनलाई स्वागत गर्ने हेतुले मनाइने गरेको पनि पाइन्छ । हिउँदयाम सकिएको र चिसो बिदा हुँदै गर्मीको आगमनको रूपमा पनि यो पर्वलाई मुख्य रूपमा मनाइन्छ । 

यो पर्वको समयमा मुख्य रूपमा आफ्ना दिवङ्गत पितृलाई सम्झिएर पूजा गर्ने गरिन्छ । थकाली समुदायका महिलाले मध्यरातमा उठेर तीन दिनसम्म पितृलाई चोखो पानी तथा खानेकुरा चढाउने र पूजा गर्दा पितृको उद्धार भई आर्सीवाद दिने मार्फा क्षेत्रका थकालीहरूको विश्वास छ ।

सामान्यतया दशैं तिहारको आगमनमा अन्यत्र हुने जस्तै यो पर्वको आगमन पूर्व सन्ध्यामा आफ्ना घर आगमन सरसफाइ गर्ने र रङ्ग लगाउने गरिन्छ । घर सफा गर्नुका साथै आफ्ना चेलीबेटीहरूलाई पनि निम्ता गरेर बोलाएरै पर्वमा सहभागी बनाइने स्थानीयको भनाइ छ ।