• ८ मंसिर २०८१, शनिबार

मैले पढेको पुस्तक

blog

‘कत्रो ठूलो किताब !’ म किताबको आकार देखेरै छक्क परेको थिएँ । मैले त्यति ठूलो किताब देखेकै थिइनँ । बुवाले मलाई किताब दिँदै भन्नुभएको थियो, “यसलाई ठूलो किताब अर्थात् बिग बुक भनिन्छ ।” बुवाले किताब दिने बितिक्कै मैले किताबको शीर्षक पढेँ । ‘बराबर’ किताबको शीर्षक थियो । यस्तै खालको किताब मैले केही समयअगाडि पढेको थिएँ । किताबको शीर्षक थियो ‘चिडियाखाना’ । त्यही किताबभन्दा पनि ठूलो थियो ‘बराबर” किताबको आकार । 

हामी साना साना बालबालिकाले राम्ररी चित्र र अक्षर देखून्, कथालाई प्रस्टसँग पढून् भनेर प्रकाशकहरूले यस्ता किताब प्रकाशन गरेको हुनुपर्छ भन्ने सोचेँ । ठूलो किताब भएपछि पानाहरू पनि ठूल्ठूला हुने । ठूल्ठूला पाना देखेपछि यी पाना पल्टाउन मलाई हतार भइहाल्यो । मैले किताबका पाना पल्टाएँ । आफ्नो जिउ जत्रै लामो किताब पल्टाउन पाउँदा म कताकता रमाएँ पनि । छक्क परेँ । 

किताबको आवरणमा दुईवटा भाले र सानो कमिला पनि थियो । चित्र राम्रा थिए । यस किताबलाई पढ्नका लागि मनमा खुल्दुली भइहाल्यो । दुई हातले किताब पल्टाएँ । भित्री पानामा पनि ‘बराबर’ लेखेको रहेछ । सानो चित्र पनि रहेछ । लेखक र चित्रकारको फोटो पनि रहेछन् । पुनर्कथन– यशु श्रेष्ठ, कला– राजकुमार प्रजापतिले लेखेका रहेछन् । मैले अक्षर अक्षर केलाएर पढ्न लागेँ । विधा ‘चित्रकथा’, सर्वाधिकार–लेखकमा अनि प्रकाशकचाहिँ खोजी प्रकाशन गृह प्रा.लि. रहेछ ।

यति पढेपछि मैले फेरि किताबको पाना पल्टाएँ । निकै ठूल्ठूला अक्षर र चित्रहरू रहेछन् । पढ्न त कति मजा मजा नि ! प्रस्ट देखिने चित्र र अक्षरहरू । मैले रमाइ रमाइ पढेँ । ‘रातो भालेले एउटा पोको देख्यो । त्यो पक्कै खानेकुराको पोको हो’ ऊ दौडदै पोकोनेर गयो । सेतो भालेले पनि पोको देख्यो । ऊ पनि दौडदै पोकोनेर आइपुग्यो । यसरी भालेहरूले पोको देखेको कुरा लेखिएको थियो । ‘केको पोको रहेछ’ भनेर मलाई पनि खुल्दुली भयो । मैले पढ्दै गएँ । पोको त भातको रहेछ । दुवै भालेले भात एक किलो जति भएको अनुमान गरे । 

आधा आधा किलो बाँडेर खाने भन्दाभन्दै कहिले तँलाई एक पाव बढी त कहिले पचास ग्राम बढी छ भनेर झगडा पो गर्न लागे । यसरी झगडा गर्दागर्दै भात त झन्डै कुकुरले खान लागेको । झगडा ग¥यो भने त आफूलाई बेफाइदा अनि अरूलाई फाइदा हुँदो रहेछ भन्ने बुझेर उनीहरू अलि पर गए । हाँसले तराजु ल्याइन् । अनि उनीहरूको कुरा मिल्यो ।

यस्तो कथा पढ्न पाएर मलाई मजा पनि लाग्यो । मलाई हाँसो पनि लाग्यो । हाँस्दै कथालाई अन्त्यसम्म पढेँ । झगडा गर्न नहुने, भात वा चामललाई किलो, ग्राम आदिमा नापिने, जस्तो सुकै समस्याको पनि समाधन हुने रहेछ भन्ने कुरा पनि थाहा पाएँ । नयाँ नयाँ शब्दहरू पनि पढ्न र जान्न पाएँ । यस्ता कथा लेखिदिने, चित्र बनाइदिने अनि प्रकाशन गरेर हामीमाझ ल्याइदिने सबैलाई धन्यवाद छ ।