• ८ मंसिर २०८१, शनिबार

मेरो देश नेपाल

blog

नेपाल मेरो जन्मभूमि र कर्मभूमि हो । मेरो देशको उत्तरमा सेतो हिउँले ढाकिएको हिमाल छ जसमा अग्लाअग्ला हिमालहरू छन् । मध्यमा हरियो वनको पछ्यौरा ओडेका पहाडहरू छन् भने दक्षिणमा पहेँलो फूलहरू फुलेका फराकिला फाँट छन् । यहाँ मेची, कोसी, कर्णाली, गण्डकी, महाकाली आदिजस्ता ठूल्ठूला नदीहरू हिमालबाट उफ्रँदै तराईतिर बगेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा मेरै देशमा छ । मेरो प्यारो देश संसारकै श्रीपेच बनेर दक्षिण एसियामा मुसुक्क हाँसेर बसेको छ । 

चीन र भारतको बीचमा रहेको यो देश पूर्वदेखि पश्चिमसम्म फैलिएको छ । यहाँ विभिन्न पहाड, वनजङ्गल र नदीनाला मात्र नभइकन ठूल्ल्ठूला झरना, ताल, कुण्ड, लेक, बेँसी, उपत्यका र मनै लोभ्याउने घाँसेमैदानहरू पनि छन् । नेपाल जलस्रोतको हिसाबले विश्वकै सबैभन्दा दोस्रो धनी देश हो । नेपालको राष्ट्रिय जनावर गाई, चरा डाँफे, फूल लालीगुराँस, रङ सिम्रिक, पोसाक दौरा–सुरुवाल र गुन्युचोलो, तरकारी गुन्द्रुक र हतियार खुकुरी हो । नेपालमा धेरै वेशभूषा र भाषाभाषिक भएका मानिस बसेका हुनाले नेपालको संस्कृति र अरू देशको संस्कृतिबीच धेरै भिन्नता छ । नेपालको राजधानी काठमाडौँमा छ । नेपालको सबैभन्दा महान् चाडपर्व दशैँ हो । नेपालमा हिन्दु, बौद्ध, किराँत, इस्लाम आदि धर्मवालम्बीहरू मिलेर बसोबास गर्छन् । यी विभिन्न जातजातिका भाषा, पोसाक, चाडपर्व, पोसाक, खानपान, जात्रा, मेला, नाचगान, रीतिरिवाजले मेरो देश अझै सुन्दर बनेको छ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा, भगवान् गौतम बुद्ध जन्मेको स्थल, विश्वकै सबैभन्दा गहिरो गल्छी कालीगण्डकी गल्छी र उपत्यका अरुण उपत्यका, विश्वकै सबैभन्दा ठूलो हिन्दु मन्दिर पशुपतिनाथ आदिजस्ता सम्पदाले गर्दा मेरो देश नेपाल धेरै प्रसिद्ध भएको छ । त्यसैले मलाई मेरो देश धेरै प्यारो लाग्छ र म नेपाली भएर जन्मन पाएकोमा म धेरै गर्व गर्दछु ।