• १३ साउन २०८१, आइतबार

‘संविधानको पालना र संरक्षण मेरो जिम्मेवारी’

blog

काठमाडौँ, फागुन २६ गते । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात् गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन आफू सदैव तत्पर रहने बताउनुभएको छ।

राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रेस विज्ञप्ति जारी गर्दै उहाँले राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्नुभएको छ। साथै नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै उहाँका आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने स्पष्ट पार्नुभएको छ।

उहाँले २००७ सालको जनक्रान्तिको आरम्भदेखि प्रजातन्त्र स्थापना तथा पुनस्र्थापनाका निम्ति भएका विभिन्न आन्दोलन, सङ्घर्ष र अभियानमा ज्यान गुमाउनु भएका सबै सपूत शहीदप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले आफूलाई साझा उम्मेदवारका रूपमा प्रस्तुत गर्ने र सहयोग गर्ने गठबन्धन दलहरू एवं मतदान गर्ने सबै मतदाताप्रति हृदयतः आभार व्यक्त गर्नुभएको छ। त्यसका साथै पौडेलले मित्रवत् प्रतिस्पर्धामा रहनुभएका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, 

उहाँको दल तथा मतदातालाई पनि हार्दिक सम्मान गर्नुभएको छ।

प्रतिनिधि सभा र संविधान सभामा विजयी गराई निरन्तर सेवा गर्ने अवसर दिनुभएकामा तनहुँ जिल्लावासी तथा मतदातालाई पनि हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दै उहाँले निष्पक्ष निर्वाचन सम्पन्न गराएकामा निर्वाचन आयोग, नेपाल सरकारका सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।