• ६ जेठ २०८१, आइतबार

देवदहमा स्वास्थ्य बीमा सुरु

blog

बुटवल समाचारदाता

बुटवल, फागुन २५ गते । रुपन्देही जिल्लाको देवदह नगरपालिकाले स्वास्थ्य बीमा सुरु गरेको छ । यो पालिकाले गत माघमा स्वास्थ्य बीमा बोर्डसँग स्वास्थ्य बीमा ऐन–२०७४ र स्वास्थ्य बीमा नियमावली–२०७५ अनुसार सेवा प्रदान गर्ने सम्झौता गरेको थियो ।

प्रतिनिधि सभाका सदस्य छविलाल विश्वकर्मा र देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले बिहीबारदेखि लागू हुनेगरी बीमा सेवा शुभारम्भ गर्नुभएको हो । अब नगर अस्पताललाई प्रथम सेवा बिन्दु उल्लेख गरेर स्वास्थ्य बीमा गरेका नगरवासीले बीमाबापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधि नगर अस्पतालबाटै पाउनेछन् । 

सो अवसरमा प्रतिनिधि सभाका सांसद विश्वकर्माले देवदह नगरपालिकाले स्वास्थ्य सेवाका क्षेत्रमा गरेको प्रयास सराहनीय भएको बताउँदै जिल्लाका अरू पालिकाले पनि यस्तो सेवा प्रवाहमा जोड दिनुपर्ने बताउनुभयो ।

देवदह नगरपालिकाका प्रमुख खरेलले नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर १० शøयाको नगर अस्पताल सञ्चालनमा ल्याएको र पाँच वर्षभित्र सबै नगरवासीको स्वास्थ्य बीमा गरी पूर्ण स्वास्थ्य बीमायुक्त नगर घोषणा गर्ने योजना रहेको बताउनुभयो ।  स्वास्थ्य बीमाको शुल्क तिर्न र नवीकरण गर्न नसक्ने विपन्न परिवारलाई नगरको बजेटबाट निःशुल्क गर्ने नगरप्रमुख खरेलले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

स्वास्थ्य बीमा बोर्ड रुपन्देहीका संयोजक दिलीपमणि पौडेलले तीन तहको सङ्घीयता कार्यान्वयनमा आएपछि रुपन्देहीका १६ स्थानीय तहमध्ये नगर अस्पताल सञ्चालन र स्वास्थ्य बीमा गर्ने देवदह पहिलो स्थानीय तह भएको बताउनुभयो । 

नगर अस्पतालमा बीमा कार्यक्रम लागू हुँदा ठूला अस्पतालमा बीमा सेवाका लागि हुने चाप घट्ने उहाँले बताउनुभयो । बीमा कार्यक्रम लागू भएपछि नगरवासीले नगर अस्पतालमा ल्याब परीक्षण, भिडियो एक्स–रे, एक्स–रेसहित औषधि निःशुल्क पाउनेछन् ।