• १३ साउन २०८१, आइतबार

महामूर्खको उपाधि पाउन तँछाडमछाड

blog

जनकपुरमा मिनापद्वारा आयोजना गरिएको होरी महोत्सव तथा महामूर्ख सम्मेलन। तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, फागुन २२ गते। कसैलाई मूर्ख मात्र पनि भनिदिँदा क्रोधले तथानाम गालीगलौज मात्रै गर्दैनन् उस्तै परे हातपात गर्न अग्रसर हुन्छन्। तर जनकपुरमा सम्मेलनको आयोजना गरेर हजारौँ मानिसका अगाडि महामूर्ख भनेर घोषित गरिँदा पनि आफूलाई गौरवान्वित महसुस गर्छन्। 

जनकपुरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष होली पर्वको अवसरमा महामूर्खको उपाधि प्रदान गर्दै आएको छ। उपाधिसँगै भन्टा, मुलालगायत विभिन्न तरकारीले उनिएको माला लगाएर सम्मान गरिन्छ। तर, यस वर्ष भने यो उपाधि पाउन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवदेखि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसम्मको तँछाडमछाड भइरहेको छ।

व्यङ्ग्यात्मक शैलीमा प्रदान गरिने यो महामूर्खको उपाधि कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई(मह जोडी), मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, राजनीतिक विश्लेषक सीके लाल, साहित्यकार रामभरोस कापडी, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, जनकपुर महानगरका पूर्व नगरप्रमुख लालकिशोर साहले पाइसक्नुभएको छ। 

मिनपाका अध्यक्ष प्रमेश्वर झाका अनुसार यस वर्ष महामूर्खको उपाधिको आकाङ्क्षी मुख्यमन्त्री यादव, कांग्रेस नेता निधि, जनकपुर उपमहानगरका नगर प्रमुख मनोजकुमार साह रहेको बताउनुभयो। मिनापले सोमबार जानकी मन्दिरमा होरी महोत्सव मनाएको छ भने मङ्गलबार महामूर्ख सम्मेलन गर्ने तालिका सार्वजनिक गरेको छ। 

मिथिलाञ्चलमा लोप हुँदै गएको फागु गीत र परम्परालाई निरन्तरता दिन परिषद्ले २०६१ सालदेखि डम्फा प्रतियोगिता तथा महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ। मिनपाले भाषा, संस्कृति, कला सामाजिक रूपान्तरण, राजनीतिक क्षेत्रमा उल्लेखनीय काम गर्नेलाई महामूर्खको उपाधि प्रदान गर्दै आएको छ।