• १३ साउन २०८१, आइतबार

शहीदको बलिदानले अहिलेको परिवर्तन सम्भव : महासचिव गुरुङ

blog

पुतली बजार नगरपालिका ३ लत्रेपिपलको जनयुद्धको शहिद पृथ्वी गौतमको शालिकको अनावरण गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ। तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, फागुन २१ गते। नेकपा (माओवादी) केन्द्रका महासचिव देवप्रसाद गुरुङले शहीदको बलिदानीले नेपालमा अहिलेको परिर्वतन सम्भव भएको बताउनुभएको छ। 

शहीद सप्ताहअन्तर्गत आइतबार पुतलीबजार नगरपालिका ३ लत्रेपीपलमा निर्माण गरिएको जनयुद्धका शहीद पृथ्वी गौतमको शालिक अनावरण तथा गेटको उद्घाटनका क्रममा गुरुङले शहीदका सपना पूरा गर्न गणतन्त्रका पक्षधर एक हुनुपर्ने बताउनुभयो। 

गणतन्त्र आए पनि दलित, जनजाति, मुस्लिम तथा अल्पसङ्ख्यकको अधिकार सुनिश्चितन भएको बताउँनुहुँदै गुरुङले जनयुद्धका उद्देश्य पूरा भएमा सबैले अधिकार पाउने जिकिर गर्नुभयो। 

अहिले जनताले दल आपसी सहमति गरेर अगाडि बढ्ने जनादेश दिएको बताउँदै गुरुङले संविधान र गणतन्त्रको रक्षाको लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभयो। 

राष्ट्रिय सहमति गर्न नसके देशको समृद्धिमा खतरा रहेको बताउँदै गुरुङले विभिन्न बाहनामा बृहत् शान्ति सम्झौता उल्टाउने प्रयास भइरहेको बताउनुभयो। 

दलको बीचको एकताले देश अहिलेको अवस्थामा आएको बताउँनुहुँदै गुरुङले पछिल्लो गठबन्धन पनि सहमतिको प्रयास भएको बताउनुभयो। गणतन्त्र र संविधानको अगुवा प्रचण्ड भएको बताउदै गुरुङले प्रचण्डबाटै गणतन्त्र र संविधानको रक्षाको सम्भव रहेको बताउनुभयो। 

कार्यक्रममा पुतली बजार नगर प्रमुख तुलसीराम रेग्मी, माओवादी केन्द्रका जिल्ला संयोजक प्रकाश न्यौपानेलगायतले मन्तव्य राख्नुभयो।