रमेश पौडेल
पोखरा, फागुन २० गते। पोखराको फेवातालमा आइतबार दिउँसो डुंगा पल्टिदा घाइते पोखरा महानगरपालिका १ बगर बस्ने ७० वर्षीय यम माया गिरी महिलाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते महिलाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवण बिकले जानकारी दिनुभयो।
डुंगामा सवार अन्य ५ जनालाई उद्धार गरिएको थियो। उनीहरुको अवस्था सामान्य रहेको छ। फेवातालको बीचमा रहेको तालवाराही मन्दिरको दक्षिणी भेगमा एक्कासी डुंगा पल्टिएपछि रेस्क्यु टोलीले उद्धार गरेको थियो। दिउँसो करिब सवा ४ बजेतिर आएको हावाहुरीले ६ जना सवार डुंगा पल्टिएको हो।
यो सिजनमा प्राय पोखरामा लगभग ३ बजेपछि हावाहुरी चल्छ। हावाहुरीको बेलामा फेवातालमा डुंगा सयर गर्नु जोखिम मानिन्छ। विगतमा डुंगा पल्टिदा दर्जनौंले ज्यान गुमाएका छन्। तसर्थ डुंगा सयर गर्दा मौसमको अवस्था बुझ्नुपर्ने र अनिवार्य लाइफ ज्याकेट प्रयोग गर्नुपर्ने उद्धार टोलीका एक सदस्यले बताउनुभयो। उद्धार टोलीमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली बाराही घाटमा रहेको छ।