धीरेन्द्रप्रसाद साह
जनकपुरधाम, फागुन १९ गते । मधेश प्रदेशका जिल्लाहरूमा फलफूलको राजा मानिने आँपको फल नलाग्दै मञ्जरी (फूल/मजुरा)को खरिद–बिक्री भइरहेको छ।
मधेश आँपको राजधानीका रूपमा परिचित छ। यहाँका सिरहा, सप्तरी र सर्लाहीमा यतिखेर आँपको मञ्जरी खरिद–बिक्री गर्न व्यापारीहरू आँपको बगैँचामा नै पुग्ने गरेको छन्। आँपको बोटमा लागेको मञ्जरीअनुसार व्यापारीहरूले मूल्य तोक्ने गरेका छन्। आँपको बगैँचामा भएको बोटले दिनसक्ने फलको आधारमा मोलतोल गरेर मौखिक रूपमा मञ्जरीको खरिद–बिक्री भइरहेका छन्। मधेशका अन्य जिल्लाभन्दा सप्तरी, सिरहा, सर्लाहीमा मञ्जरीको खरिद–बिक्री व्यापक मात्रामा भइरहेको छ।
सप्तरी जिल्लाको राजविराज नगरपालिका–९, जोलहरी निवासी कुदुशले ९० हजारमा मञ्जरी खरिद गर्नुभएको छ। घर नजिकको ठूलो आँपको बगैँचाको मञ्जरी खरिद गर्नुभएको उहाँले भन्नुभयो, “यो बगैँचामा ३० वटा बोटको मञ्जरी खरिद गरेको छु, सबै बोटमा मञ्जरी अत्यधिक लागेको छ। यसलाई अहिलेदेखि कीटनाशक औषधि छरेर स्याहार गरेमा मात्र राम्रो फल दिन्छ। त्यसैले मैले अहिले नै मञ्जरी खरिद गरेको हुँ।”
मञ्जरीमा टिकुला लागेपछि बढी मूल्य तिर्नुपर्ने भएकाले मञ्जरी सस्तोमा किन्ने गरेको व्यापारीको भनाइ छ। उहाँले भन्नुभयो, “मञ्जरी किनिसकेपछि फल सपार्ने काम हामै्र जिम्मेवारी हुन्छ, नत्र हामीलाई घाटा लाग्छ।” बगैँचा धनीले समयमा राम्ररी हेरचाह तथा स्याहार गर्न नसक्दा मञ्जरीमा किरा लाग्ने, झर्ने गरेको कारण आँप कम फल्छ। कृषक भोला यादवले सोचेअनुसारको आम्दानी नहुने हुँदा अरूलाई बेच्ने गरेको बताउनुभयो। मञ्जरी खरिद गरिसकेपछि अहिलेसम्ममा एक पटक सिँचाइ गरी कीटनाशक औषधि छरिसकेको जानकारी दिँदै उहाँले मञ्जरीअनुसार आँपको फल सप्रियो भने राम्रो आम्दानी हुन्छ। ठूला बगैँचाको रेखदेख स्याहार, हेरचाह आफैँले गर्न नसकिने र मजदुर पनि नपाइने गरेकोले फल भगवान् भरोसामा साप्रिने गरेको हुँदा मञ्जरी नै बेच्ने गरेको यादवले बताउनुभयो।
व्यापारीहरूले मञ्जरी खरिद गरिसकेपछि दिनरात बगैँचामा समय बिताएर फल कसरी सपार्ने र त्यसबाट अत्यधिक कमाइ कसरी गर्ने भन्नेमा दिमाग लगाइरहन्छन्। आँप व्यापरीले खरिद गरेको बगैँचामा फुसको टहरा निर्माण गरेर त्यही खाना पकाउने, खाने र सुत्ने गरिन्छ। आँप नटिपुन्जेलसम्म उनीहरूको भोजन आवास बगैँचामा नै हुन्छ। कृषि ज्ञान केन्द्र सप्तरीको तथ्याङ्कअनुसार कुल आँप बोटको ६० प्रतिशत मालदहको रहेको छ भने कलकतिया २० प्रतिशत, बम्बई १५ प्रतिशत र अन्य जातका पाँच प्रतिशत बोट छन् । जिल्लाका धरमपुर, रूपनगर, घोघनपुर, जगतपुर, कञ्चनपुर, तेरहौता, प्रसवनी, बकधुवा, कुशहा, कल्याणपुर, कडरबोना, कठौना बस्ती आँप खेतीका लागि प्रख्यात छन् । ती स्थानका आँप बगैँचाको मञ्जरी बिक्री भइसकेको छ।
यहाँको आँप काठमाडौँ, विराटनगर, हेटौँडा, वीरगञ्ज, पोखरालगायतका देशका अन्य सहरमा पुग्ने गरेको छ । सङ्घीय राजधानीमा खपत हुने आँपमध्ये ४० देखि ५० प्रतिशतसम्म सप्तरी जिल्लाले नै आपूर्ति गर्ने गरेको केन्द्रका सूचना अधिकारी बाली संरक्षण अधिकृत दिनेशप्रसाद यादवको आकलन छ। जिल्लामा आठ हजार हेक्टर क्षेत्रफलमा आँप खेती भइरहेको उहाँले भन्नुभयो, “यो वर्ष आँप उत्पादनको अफ इयर (कम फल्ने वर्ष) हो। यहाँको आँप निकासी स्वदेशमा मात्र नभई भारतको कोलकाता, सिलिगुडीका थोक व्यापारीहरू सप्तरीको मालदह आँप खरिद गर्ने गर्दछन् । यहाँको मालदह र दसहरी आँप कतार, साउदी अरबलगायतका अन्य खाडी मुलुकमा समेत जाने गरेको छ । सप्तरीमा उत्पादन भएको आँपमध्ये २५ प्रतिशत विदेश निकासी हुने गरेको अवकाश प्राप्त वरिष्ठ कृषि विकास अधिकृत अनुपलाल साहले जानकारी दिनुभयो।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता रोशनकुमार मेहताले प्रदेशको सप्तरी, सिरहा जिल्लामा सबभन्दा बढी आँप खेती भइरहेको जानकारी दिनुभयो। उहाँले धनुषा, सर्लाही, महोत्तरीमा कम र रौतहट, बारा पर्सामा न्यून मात्रामा आँप खेती रहेको बताउनुभयो।