हरिकृष्ण ऐडी
मुगु, फागुन १९ गते । डिभिजन वन कार्यालयले जडीबुटी उत्पादन र संरक्षणमा स्थानीय सहभागिता बढाउन समुदायका अगुवाको क्षमता विकाससम्बन्धी तालिम दिँदै आएको छ । यद्यपि जडीबुटी जिल्लाका रूपमा चिनिने मुगुमा जडीबुटी उत्पादनमा ह्रास आउँदै गएको छ । यसको कारण चोरीनिकासी र बेमौसममा जडीबुटी सङ्कलन नै प्रमुख रहेको डिभिजन वन कार्यालयको ठम्याइ छ ।
स्थानीय जडीबुटी व्यवसायी सक्कबहादुर रावलका अनुसार ग्रामीण बस्तीमा पहिलेको जस्तो पर्याप्त मात्रामा जडीबुटी पाइन छाडेको छ । मुस्किलले छदेखि आठ क्विन्टलसम्म जडीबुटी सङ्कलन हुन्छ । सम्बन्धित निकायले जडीबुटी उत्पादनसम्बन्धी दिगो विकास रणनीति ल्याउन जरुरी भएको रावलले बताउनुभयो । जिल्लाबाट आर्थिक वर्ष २०७५/७६ देखियता नौ मेट्रिकटन ७६ किलो जडीबुटी निर्यात भएको तथ्याङ्क छ । जसबाट ३१ लाख ५६ हजार ७२० रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
जिल्लाको सोरु, खत्याड, मुगमकार्मारोङ गाउँपालिका, छायाँनाथरारा नगरपालिकाका सामुदायिक वन र पाटन क्षेत्रमा पाइने गुच्ची च्याउ, कुट्की, यार्सागुम्बा, अतीस, वनलसुन, विषजरा, पदमचाल, सेतक चिनी, सुगन्धवाल, सुनपाती, पाँचऔँले, सतुवाजस्ता जडीबुटी पाइन्छन् । जडीबुटी उत्पादन कम हुँदै गएपछि जडीबुटी सङ्कलन र यसको व्यापारमा निर्भर परिवार प्रभावित भएका छन् । मुगमकार्मारोङ गाउँपालिका–९ का धर्मबहादुर रोकायाले आफूहरूको प्रमुख आयस्रोत भनेकै जडीबुटी भएको बताउनुभयो ।
उहाँले अहिले जडीबुटी उत्पादन कम भएपछि घरखर्च, बालबालिकाको शिक्षा र उपचारमा समस्या पर्दै गएको बताउनुभयो । उहाँका अनुसार दुई–तीन वर्षयता पाटन क्षेत्र र जङ्गलमा जडीबुटी उत्पादनमा कमी भएको छ । छायाँनाथरारा नगरपालिका–१० का स्थानीय वृषबहादुर बुढाले जडीबुटीबाट हुने आम्दानीको स्रोत घटेको बताउनुभयो ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी प्रिन्स जैसवालका अनुसार हुम्ला र जुम्लाका स्थानीयले मुगु क्षेत्रबाट प्रवेश गरी जडीबुटी चोरीनिकासी हुने गरेको छ । त्यसको नियन्त्रण गर्न सकिएको छैन । जसले गर्दा त्यसको असर जडीबुटी उत्पादनमा परेको छ । जडीबुटीको सङ्कलनसमेत निश्चित मौसममा गर्नुपर्दछ । असार र साउनमा जडीबुटी सङ्कलन गर्नाले उत्पादनमा कमी आएको भनाइ उहाँको छ । उहाँले भन्नुभयो, “बेमौसममा जडीबुटी सङ्कलन, चोरीनिकासी जस्ता कार्यमा र जडीबुटी संरक्षणका लागि समुदायले पनि सहयोग गर्न आवश्यक छ ।”