• १४ असार २०८१, शुक्रबार

खुला दिसामुक्त अभियान कागजमै सीमित

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, फागुन १७ गते । सिन्धुली जिल्लालाई साढे चार वर्षअघि गरिएको खुला दिसामुक्त जिल्ला अभियान कागजमै सीमित बनेको छ। उक्त घोषणासँगै खुला दिसामुक्त अभियानले निरन्तरता नपाउँदा खुला दिसामुक्त जिल्ला घोषणा कागजमा सीमित भएको हो।

२०७५ साल वैशाख १३ गते तत्कालीन खानेपानी तथा सरसफाइमन्त्री बीना मगरको उपस्थितिमा जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समितिले सिन्धुली जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरेको थियो। कमलामाई नगरपालिका वातावरण शाखा प्रमुख सागरकुमार ढकाल उक्त घोषणापछि सहजीकरण गर्ने संस्थाको अभावमा अहिले समस्या देखिएको बताउनुहुन्छ। उहाँका अनुसार केही गैरसरकारी संस्थाको सक्रियतामा सिन्धुली जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो। उहाँले भन्नुभयो, “त्यसलाई संस्थागत ढङ्गले मानिसको स्वभाव परिवर्तनसँग जोड्न सकेनौँ। अब हामी पूर्ण सरसफाइ चरणमा जानुपर्ने हो, त्यो अधुरो भयो ।”

ती संस्थाले जिल्लामा बसेर काम गरुन्जेल, ती संस्थाको पैसा र जनशक्ति हुँदा काम भएको उहाँको भनाइ छ। जिल्लाको ग्रामीण क्षेत्र मात्र नभई सदरमुकाम क्षेत्रका धेरै ठाउँ नै खुला दिसामुक्त बन्न सकेको छैन। सार्वजनिक स्थल, खोल्सा र पाखाभित्तालाई शौचालयका रूपमा प्रयोग गर्ने क्रम बढ्दै गएको छ। तीनपाटन गाउँपालिका–७ निवासी वीरबहादुर सार्की गाउँलाई खुला दिसामुक्त घोषणा गर्न बनाइएका शौचालयमा पानीको अभाव देखिएपछि प्रयोगविहीन बन्दै गएको सुनाउनुहुन्छ। त्यति बेला शौचालय बनाउन नसक्ने परिवारलाई आवश्यक सिमेन्ट र प्यान ती दातृ निकायले निःशुल्क उपलब्ध गराएका थिए। शौचालय बनाउन चाहिने अन्य निर्माण सामग्री र जनशक्ति सम्बन्धित परिवारले बेहोरेका थिए ।