• १२ मंसिर २०८१, बुधबार

बुटवल नारायणगढ सडक २६ प्रतिशत निर्माण

blog

बुटवल नारायणगढ सडक विस्तार देवचुली क्षेत्र । तस्बिर– मीना कंडेल

मीना कंडेल

कावासोती, फागुन १६ गते । राष्ट्रिय गौरवको रूपमा रहेको बुटवल नारायणगढ फोर लेन सडक निर्माणमा २६ प्रतिशत प्रगति हासिल भएको छ । सडक निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले थप गरिएको परीक्षण अवधिको करिब चार महिनामा कार्य प्रगति मासिक दुई प्रतिशतले वृद्धि गर्दै लगेको छ ।

चाइना स्टेटले गत साउन २२ भित्र काम सम्पन्न गर्ने गरी आव ०७५/७६ मा फोरलेन सडक निर्माणको ठेक्का सम्हालेको थियो । तोकिएको समयमा काम नसकेपछि कम्पनीलाई सन्तोषजनक कार्यप्रगति देखाउने सर्तमा ३८४ दिनको समय सीमा पुनः थप गरिएको हो ।

सडक निर्माणका क्रममा फोरलेन सडक अन्तर्गतका १२ ठूला पुल मध्ये सबैमा फाउन्डेसन, फाइल फाउन्डेसनको काम सकिनै लागेको, सब स्टक्चर तथा सुपर स्टक्चरको काम भइरहेको बताइएको छ । यसैगरी माइनर ब्रिज २२ मध्ये १५ वटा सकिएको र ५ पुलमा निर्माण कार्य भइरहेको इन्जिनियर ढकालले बताउनुभयो ।

कल्भर्टहरूमा २१५ मध्ये ९३ कल्भर्ट निर्माणको काम सकिनुका साथै ४२ वटा निर्माणाधीन अवस्थामा रहेको बताइन्छ । यसका साथै हाल सडकको कतिपय ठाउँमा माटो पुर्ने, सम्माउने तथा मिलाउने काम भएको लोकाहा पुलदेखि डण्डा पश्चिमको पत्थर खोलासम्मको करिब ८ किमी क्षेत्रमा बेस तथा सवबेसका काम भइरहेको ढकालले बताउनुभयो । 

निर्माण कार्यमा आशातीत प्रगति नदेखिए पनि सडकमा निरन्तर काम भइरहेको र हाल माटो तथा निर्माण सामाग्री लगायत कुनै समस्या तथा बाधा अवरोध रहेको छैन । सहरी क्षेत्रमा ६ लेन, वन तथा खाली ठाउँमा ४ लेन र दाउन्ने पहाडमा ३ लेन रहने गरी डिजाइन भएको यो सडकको दाउन्ने क्षेत्रमा भित्तो खोतलेर सडक चौडा पार्ने काम भइरहेको सडक आयोजनाका इन्जिनियर धिरज ढकालले जानकारी दिनुभयो ।

यसैबीच, नारायणगढदेखि दाउन्ने सम्म करिब ६४ किमी सडक समयमा नबन्दा स्थानीय बजार तथा सडक छेउका बासिन्दा र यात्रुहरू विगत ४ वर्षदेखि धुलोले पिरोलिएका छन् । निर्माण कम्पनीले पुनः ठेक्का नपाउँदासम्म परीक्षण र कार्यप्रगति देखाउने बहानामा सडकमा पानी छर्केर धुलो हटाए पनि हाल पानी हाल्ने काम सुस्ताएको छ । विभिन्न बहाना बनाई पहिलो पटकको म्याद गुजारेको सडक निर्माण कम्पनीले कछुवा गति जारी राखे फोरलेन सडक सम्पन्न हुन झण्डै थप तीन वर्ष लाग्ने जानकारहरू बताउँछन् ।