काठमाडौं, फागुन १५ गते । राष्ट्रपति निर्वाचनका उम्मेदवारहरुविरुद्ध कुनै पनि उजुरी नपरेको निर्वाचन आयोगले बताएको छ । उम्मेदवारविरुद्ध आइतबार बिहान १० देखि २ बजेसम्म उजुरी गर्ने समय थियो । तर, उक्त समयमा उम्मेदवारहरू विरुद्ध कुनै उजुरी नपरेको आयोगले जनाएको छ ।
राष्ट्रपति पदका लागि शनिबार नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको थियो । राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ ।
आयोगका अनुसार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा आज (सोमबार) मनोनयन दर्ता उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका रहेको छ ।
त्यस्तै, फागुन १६ गते अपराह्न ४ देखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।