• ९ पुस २०८१, मङ्गलबार

बसपार्क बनेपछि बजार व्यवस्थित

blog

सर्लाही समाचारदाता

सर्लाही, फागुन १५ गते । सर्लाही सदरमुकाम मलङ्गवामा बीच बजारबाट बसपार्क हटाइएपछि बजार क्षेत्र केही फराकिलो र व्यवस्थित देखिएको छ। मलङ्गवा नगरपालिका–२ स्थित बजारको बीचमा रहेको बसपार्क दुई साताअघि वडा नं. ९ स्थित व्यवस्थित ठाउँमा सारिएको थियो। 

बीच बजारमै साँघुरो ठाउँमा बसपार्क रहँदा आउजाउमै समस्या भइरहेकोमा अहिले नयाँ ठाउँमा बसपार्क राखेपछि निकै सहज भएको मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिनुभयो। मलङ्गवा–९ स्थित जिल्ला प्रहरी कार्यालय छेउमा रामकविर मठले उपलब्ध गराएको २५ रोपनी जग्गामा बसपार्क निर्माण गरी सञ्चालनमा ल्याइएको छ। प्रमुख प्रशासकीय अधिकृत गौतमका अनुसार सङ्घीय सरकारको आठ करोड ३९ लाख रुपियाँमा व्यवस्थित बसपार्क बनेको हो। 

मलङ्गवाबाट विभिन्न रुटमा चल्ने बस अहिले नयाँ बसपार्कबाटै छुट्ने गरेका छन्। सुरुमा बस व्यवसायीले नयाँ बसपार्कमा जान अस्वीकार गरे पनि अहिले सबै बस बसपार्कबाट चलिरहेका नगरपालिका कार्यालयले जनाएको छ। मलङ्गवा बजारमा अहिले कृष्णमति माध्यमिक विद्यालयदेखि राजश्री सिनेमाहल चोकसम्मको सडक विस्तारको काम पनि जारी नै छ। 

सडकको मापदण्डभित्र पर्ने घरलगायत अन्य संरचना केही समयअघि भत्काइएको थियो। यो सडक निर्माणपछि बजार क्षेत्र अझै व्यवस्थित हुने प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनुभएको छ। गौतमका अनुसार पुरानो बसपार्क रहेको कृषि विकास बैङ्कको पाँचकट्ठा जग्गा नगरपालिकाको मातहतमा ल्याउन पहल गर्ने कार्यपालिका बैठकबाट भर्खरै निर्णय गरिएको छ। सदरमुकाम र जिल्लाकै सबैभन्दा पुरानो नगरपालिका भएर पनि मलङ्गवामा बजार, ढल, सरसफाइलगायत क्षेत्रमा खासै परिवर्तन हुन नसकेको भन्दै गुनासो आउने गरेको छ।