• १० मंसिर २०८१, सोमबार

भ्रष्टाचार मुद्दा दायर

blog

काठमाडौँ, फागुन १३ गते । रुकुमको साइकुमारी आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

विद्यालयको रकम विभिन्न व्यक्ति तथा संस्थालाई ऋण दिएर फिर्ता नगरी राज्यलाई नोक्सानी पु-याएको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष गोविन्दबहादुर केसी, तत्कालीन प्रधानाध्यापक लालबहादुर केसीलगायत सात जनाविरुद्ध आयोगले शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। तत्कालीन अध्यक्ष र तत्कालीन प्रधानाध्यापक केसीद्वयले हस्ताक्षर गरेर आठ लाख ९४ हजार रुपियाँ दिए पनि फिर्ता नगराएको आयोगको दाबी छ। दुवैलाई सोही रकम बराबरको बिगो र भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको छ। 

सोही मुद्दामा विद्यालयका तत्कालीन व्यवस्थापन समितिका सदस्य तथा बागबजार पैयाचौर रावलबारा थर्पु डिक्रे सडक उपभोक्ता समितिका कोषाध्यक्ष माया केसीलाई पनि आठ लाख रुपियाँ बिगोसहित भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको छ। त्यसैगरी पैयाचौर रावलबारा थर्पु डिक्रे सडक उपभोक्ता समितिका अध्यक्ष द्रोणबहादुर खत्रीविरुद्ध पनि आठ लाख ९४ हजार रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको छ। 

खत्रीको मृत्यु भइसकेकाले उहाँकी श्रीमती पुतला खत्री, छोराहरू विनोद खत्री, विशाल खत्री र विवेक खत्रीबाट उक्त बिगो असुलउपर गर्नुपर्ने माग आयोगले गरेको छ।