• १० साउन २०८१, बिहिबार

चक्रपथ विस्तारमा प्राधिकरणका कारण कुनै पनि ठाउँमा समस्या छैन : निर्देशक घिसिङ

blog

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । फाइल तस्बिर

काठमाडौं, फागुन ११ गते । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कारण कुनै पनि ठाउँमा चक्रपथ विस्तारमा समस्या नरहेको स्पष्ट पार्नुभएको छ ।

बिहीबार दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत कलङ्की–वसुन्धारा सडक खण्डकको अवलोकनका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सङसँगै अनुगमन एवम् निरीक्षणका लागि त्यहाँ पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो ।

निर्देशक घिसिङले कलंकी बसुन्धारा सडक खण्डमा अब १५ वटा पोल जति हटाउन बाँकी रहेको र ति पोलहरु १५ दिनभित्रमा हटाइसक्ने जानकारी दिनुभयो । उहाँले विद्युत प्राधिकरणको कारण कुनै पनि ठाउँमा चक्रपथ विस्तारका लागि समस्या नरहेको स्पष्ट पार्नुभयो ।

निर्देशक घिसिङले भन्नुभयो, ‘‘अब यो रिङरोड विस्तारको कलङ्की चाबहिलसम्मको विस्तारमा हामीले पोल सार्ने काम सकिसकेका छौँ । एक, दुई स्थानमा रोडको लेभल मिलाउनुपर्ने भएकाले १५ वटा जति पोल सार्न बाँकी रहेछ, १५ दिनजति लाग्छ । विद्युत प्राधिकरणको पोलको कारणले कुनै पनि ठाउँमा चक्रपथ विस्तारका लागि समस्या छैन ।’’

त्यस्तै,  काठमाडौं चक्रपथ सुधार योजनाकी योजना प्रमुख सजना अधिकारीले चक्रपथ विस्तारको कलङ्कीदेखि बसुन्धरासम्म ८.२ किलोमिटर दोस्रो चरणमा सुरु हुन लागेको बताउनुभयो । उहाँले जसअन्तर्गत रहेका करिब तीन सय बिजुलीका पोलहरु हटाइसकेको र अब २२ वटा पोल मात्रै रहेकाले सडक विस्तारका लागि कुनै समस्या नभएको जानकारी दिनुभयो ।

उहाँले सडक छेउमा रहेका १९ वटा मन्दिरमा गोंगबुमा रहेको मन्दिर बाहेक अन्य सबै मन्दिर स्थानान्तरण गरिसकेको पनि बताउनुभयो । उहाँले दोस्रो चरणमा चक्रपथ विस्तार कलङ्कीदेखि वसुन्धरासम्म मात्रै रहेको प्रमुख अधिकारीको भनाइ छ ।

‘‘चक्रपथ विस्तारको कलङ्कीदेखि वसुन्धरासम्म ८.२ किलोमिटर दोस्रो चरणमा सुरु हुँदैछ । यसअन्तर्गत हाम्रा दुई, तीन सय वटा बिजुलीका पोल थिए, अब २२ वटा पोल हटाउन बाँकी छ, त्यो पनि प्रोसेसमा छ, १५ दिनभित्र भत्काउने भन्नुभएको छ । १९ वटा मन्दिर थिए, ती पनि सबै भत्काइएका छन् ।,’’ प्रमुख अधिकारीले भन्नुभयो, ‘‘रुख, चौतारोहरु पनि हटाइसकेका छौँ । कलङ्कीदेखि स्युचाटारसम्मको २२ वटा बिजुलीका पोल सार्नुपर्नेछ । दोस्राे चरण भनेको कलङ्कीदेखि वसुन्धरासम्मको हो । महाराजगञ्ज तेस्रो चरणको हो ।’’

दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत आज (बिहीबार) बिहान मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत छन सङ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलगायतले सडक अनुगमन एवम् निरीक्षण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस

उपप्रधानमन्त्री श्रेष्ठद्वारा चक्रपथ सडक निरीक्षण