सलिम मियाँ
बिजुवार (प्युठान), चैत २२ गते । प्युठानको ऐरावती गाउँपालिका–१, छेडाघाटको बस्तीमा शनिबार राति आगलागी हुँदा १३ घरपरिवारका घरगोठ जलेर नष्ट भएका छन्। प्रहरीका अनुसार, आगो स्थानीय लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट सुरु भएर बस्तीमा फैलिएको थियो।
आगलागीबाट देवान सिंह रानाको गोठ, विकास रानाको गोठ, लक्ष्म रानाको गोठ पूर्ण रूपमा नष्ट भएका छन्। त्यस्तै, इश्वरी रानाको कच्ची घर पूर्ण रूपमा जलेको छ।
यसैगरी, रमेश घर्तीको एक घर र एक गोठ, ओमबहादुर रेश्मी मगरको एक घर र दुई गोठ, भुपाल रोकाको एक घर र एक बाख्रा नष्ट भएका छन्। गुमा रजाली, बलबहादुर रजाली, झविन्द्र रजाली र घनबहादुर रानाका घरगोठमा पनि आगोले ठूलो क्षति पुर्याएको छ। देवबहादुर रजालीको गोठ जलेर नष्ट हुँदा डिला रजालीको गोठमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नरहरी अधिकारीको नेतृत्वमा इलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी दाङवाङबाट ३० जनाको टोली खटाइएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा राति करिब ११ः४५ बजे सुरु भएको आगो बिहान ७ बजे मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो।
प्रहरीका अनुसार आगलागीबाट करिब एक करोड रुपियाँ बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ।