• २२ चैत २०८२, आइतबार

रोचक मोडमा बर्दीबास उद्योग वाणिज्य संघको निर्वाचन

blog

बर्दीबास उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका प्रतिस्पर्धी दीपकबहादुर कार्की प्यानल पत्रकार सम्मेलनमा संकल्प पत्र सार्वजनिक गर्दै। तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 
बर्दीबास, चैत २२ गते ।
बर्दीबास उद्योग वाणिज्य संघको चैत २४ गते हुने कार्यसमिति चुनाव नजिकिँदै जाँदा बजार क्षेत्र चुनावी माहोलले तातिरहेको छ। अध्यक्ष, उपाध्यक्षसहित ८ पदाधिकारी र ११ सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि दीपकबहादुर कार्की र उत्तम श्रेष्ठ प्यानलबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ।

कार्की प्यानल ‘डमरु’ चुनाव चिन्हसहित मतदाता रिझाउने अन्तिम तयारीमा व्यस्त देखिन्छ भने श्रेष्ठ प्यानलको चुनाव चिन्ह ‘कलश’ छ।

व्यापारीहरू आफ्ना घरदैलो अभियानमा चुनाव चिन्हसहित आ–आफ्नो प्यानलको समर्थनमा सक्रिय छन्। चैत १३ गते मनोनयन दर्ता भएपछिको सदस्यता विवादले केही अन्यौल सिर्जना गरे पनि दुवै प्यानलले प्रचारप्रसार तीव्र बनाएर आफ्नो पकड बलियो बनाउने प्रयास गरेका छन्।

मतदान नजिकिँदै जाँदा दुवै प्यानलको सक्रियता बढेको छ भने व्यापारी समुदाय पनि उम्मेदवारप्रति स्पष्ट धारणा बनाउन आन्तरिक छलफलमा व्यस्त देखिएको छ।

यसैबीच, दीपकबहादुर कार्की नेतृत्वको प्यानलले आज पत्रकार सम्मेलन गर्दै आफ्नो ४ बुँदे चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ। ‘सुरक्षित लगानी, मर्यादित पेशा र समृद्ध बर्दीबास’ भन्ने नारासहित सार्वजनिक गरिएको उक्त संकल्पले निर्वाचनलाई थप रोचक बनाएको छ।

कार्की प्यानलले संकल्प पत्रमार्फत व्यावसायिक विकास र दीर्घकालीन आर्थिक समृद्धिलाई केन्द्रमा राख्दै विभिन्न योजना अघि सारेको छ।

साना लगानीकर्तालाई सम्मान गर्ने अभियान अन्तर्गत व्यवसायीहरूको पुँजीगत आधारमा वर्गीकरण गरी समान अवसर सुनिश्चित गर्ने,  घरभाडा, कर तथा व्यवसायी–घरधनी सम्बन्धी समस्यामा पहल गर्ने, सडक छेउका साना व्यवसायीहरूको व्यवस्थापन र बजार सुरक्षा सुनिश्चित गर्ने, पार्किङ व्यवस्थापन, फुटपाथ र ढल निकास सुधार, सार्वजनिक शौचालय र प्रतीक्षालय निर्माण गर्ने, बर्दीबासलाई ‘ट्रान्जिट’ मात्र नभई पर्यटकीय गन्तव्य बनाउने र रात्रीकालीन बजार सञ्चालन गर्ने, ‘स्टे बर्दीबास’ प्याकेजमार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने, संघभित्र कानुनी परामर्श डेस्क स्थापना गर्ने, निजी अस्पतालसँग सहकार्य गरी स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउने र महिला उद्यमीका लागि सीपमूलक तालिम र स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको हो।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार दीपक कार्कीले भन्नुभयो, “हाम्रो प्यानलले बर्दीबासको व्यापार र व्यापारीको सर्वाङ्गिण हित र विकासका लागि उम्मेदवारी दिएको हो। बर्दीबास उद्योग वाणिज्य संघलाई पारदर्शी, सेवामूलक बनाउने र व्यापारीका आवाज तथा आवश्यकतालाई सम्बोधन गर्ने हाम्रो प्रतिबद्धता छ।”

बर्दीबासका युवा व्यापारी सुदर्शन काफ्लेले विश्लेषण गर्दै भन्नुभयो, “मङ्गलबार हुने चुनावले बर्दीबासको व्यावसायिक नेतृत्व कसको हातमा सुम्पिने हो, त्यो हेर्न बाँकी छ।”