काठमाडौँ, चैत २२ गते । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ÷असिना÷हुरीबताससहित मध्यम वर्षा र हिमपात तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हुरीबतासको समेत सम्भावना छ ।
त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभाग, कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस