शिवशङ्कर मिश्र
बारा, फागुन ११ गते । चालू आव २०७९/८० मा बारा जिल्लामा चैते, भदैया र अग्हनीधान खेतीबाट दुई लाख ५० हजार ४७४ मेट्रिक टन धान उत्पादन भएको छ । यो छ अर्ब १४ करोड ९८ लाख ६२ हजार पाँच सय रुपियाँ बराबरको उत्पादन हो ।
किसानले ३४ हजार ११५ हेक्टर क्षेत्रफलमा अग्हनीधान खेती गरी प्रतिहेक्टर ४.२ मेट्रिक टनले तीन अर्ब ५८ करोड २० लाख ७५ हजार रुपियाँ बराबरको एक लाख ४३ हजार २८३ मेट्रिक टन धान उत्पादन गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख जितेन्द्रप्रसाद यादवले बताउनुभयो ।
यसैगरी ११ हजार ९०५ हेक्टर क्षेत्रफलमा भदैयाधान खेती गरी प्रतिहेक्टर ४.३ मेट्रिक टनले एक अर्ब २७ करोड ९८ लाख रुपियाँ बराबरको ५१ हजार १९१.५ मेट्रिक टन भदैयाधान उत्पादन भएको छ ।
चैतेधान खेती १४ हजार हेक्टरमा भएको थियो । प्रतिहेक्टर चार मेट्रिक टनले एक अर्ब २८ करोड ८० लाख रुपियाँ बराबरको ५६ हजार मेट्रिक टन चैतेधान उत्पादन गरेको कार्यालय प्रमुख यादवले बताउनुभयो ।
आव २०७८/७९ मा ३४ हजार ११५ हेक्टर क्षेत्रफलमा अग्हनीधान खेती गर्दा एक लाख ४१ हजार ५७७.२५ मेट्रिक टन उत्पादन भएको थियो भने ११ हजार ९०५ हेक्टरमा भएको खेतीबाट भदैयाधान ५१ हजार १९१.५ मेट्रिक टन उत्पादन भएको थियो । १५ हजार १०५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती भएको थियो । यसबाट ६९ हजार ९७२.५ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष कुल दुई लाख ५० हजार ७४४.५ मेट्रिक टन धान उत्पादन भएको केन्द्रका बाली विकास अधिकृत राजनारायणप्रसाद साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस जिल्लामा अग्हनी, धदैया र चैतेधान गरी कुल छ अर्ब १४ करोड ९८ लाख ६२ हजार पाँच सय रुपियाँ बराबर रकमको धान उत्पादन भएको छ ।”
उत्पादित धानको बजार मूल्य
अग्हनीधान प्रतिक्विन्टल दुई हजार पाँच सयले तीन अर्ब ५८ करोड २० लाख ७५ हजार, भदैयाधान प्रतिक्विन्टल दुई हजार पाँच सय रुपियाँका दरले एक अर्ब २७ करोड ९७ लाख ८७ हजार पाँच सय र चैतेधान प्रतिक्विन्टल दुई हजार तीन सय रुपियाँका दरले एक अर्ब २८ करोड ८० लाख रुपियाँ गरी कुल छ अर्ब १४ करोड ९८ लाख ६२ हजार पाँच सय रुपियाँ बराबरको धान उत्पादन भएको केन्द्रले जनाएको हो ।