• ७ वैशाख २०८१, शुक्रबार

पूर्वराजाको वक्तव्यप्रति संसद्मा आपत्ति

blog

काठमाडौँ, फागुन ११ गते । प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गर्नुभएको वक्तव्यको प्रतिनिधि सभा बैठकमा आलोचना भएको छ। शाहले संविधान र वर्तमान व्यवस्थाप्रति अपमान गर्दै बहालवाला राजाकै हैसियतमा वक्तव्य जारी गरेको भन्दै आपत्ति जनाइएको हो। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीलगायतका सांसदहरूले वक्तव्यको आलोचना गर्दा सत्तारूढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले भने बचाउ गरेको छ। 

प्रतिनिधि सभामा एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक प्रकाश ज्वालाले गणतन्त्रलाई चुनौती दिने मनसायबाट अभिव्यक्ति आएको बताउनुभयो। श्री ५ महाराजाधिराज भनेर बहालवाला राजाको हैसियत राखेर वक्तव्य निकालेको भन्दै उहाँले आपत्ति जनाउनुभयो। अहिले मुलुकमा श्री ५ रहे वा नरहेकाबारे सरकारले जवाफ दिनुपर्ने पनि माग गर्दै उहाँले  राजतन्त्र फर्काउने अभीष्ट पूरा नहुने बताउनुभयो। पछिल्लो समय गणतन्त्र, धार्मिक सद्भाव तथा साम्प्रदायिक एकताविरुद्ध शृङ्खलाबद्ध रूपमा काम भइरहेको पनि ज्वालाले  बताउनुभयो। 

जसपा सांसद सुशीला श्रेष्ठले शाहको वक्तव्यप्रति आपत्ति जनाउनुभयो। पूर्वराजाको वक्तव्य वर्तमान व्यवस्था र संविधानमाथि धावा भएको टिप्पणी गर्दै उहाँले राज्यले पूर्वराष्ट्रप्रमुखका रूपमा सुविधा दिइरहेका व्यक्तिले व्यवस्थाविपरीत वक्तव्य दिनु गम्भीर भएको पनि  बताउनुभयो। वक्तव्य, अशिष्ट, अभद्र र लज्जास्पद भएकोसमेत श्रेष्ठले टिप्पणी गर्नुभयो। 

कांग्रेस सांसद डा. प्रकाशशरण महतले अहिलेको व्यवस्था गलत भन्ने भाष्य निर्माणको काम भइरहेको बताउनुभयो। कुनै पनि निरङ्कुशता स्वीकार्य नभएको बताउँदै उहाँले कानुनी शासन र गणतन्त्रविरुद्ध विगतमा रामराज्य नै थियो भनेर निरङ्कुशता पक्षधरले अहिले प्रचार गरिरहेको पनि बताउनुभयो। 

आलोचनाको राप्रपाद्वारा विरोध

पूर्वराजाको वक्तव्यको आलोचना भएपछि राप्रपाले भने आपत्ति जनाएको छ। राप्रपाका सांसद धवलशमशेर जबराले वक्तव्य सही भएको र आलोचनाको आवश्यकता नभएको भन्दै आपत्ति जनाउनुभयो तर सभामुख देवराज घिमिरेले जबरालाई बोल्ने समय भने दिनुभएन। जसपा सांसद श्रेष्ठले मन्तव्य दिएलगत्तै जबराले आपत्ति जनाउनुभएको थियो। जबराले आपत्ति जनाउँदै गर्दा एमाले सांसद रघुजी पन्त र कांग्रेस सांसद हितराज पाण्डेले आपत्ति जनाउनुभयो। पन्त र पाण्डे दुवैले जबराको अभिव्यक्तिको आलोचना गर्नुभयो तर सभामुखले थप भनाइ राख्ने अनुमति भने दिनुभएन।

शाहले प्रजातन्त्र दिवसमा ‘श्री ५ महाराजाधिराज’का नामबाट वक्तव्य जारी गर्नुभएको थियो। उहाँले विद्यमान राज्य व्यवस्थाबाट जनताको सुख शान्तिमा कुनै योगदान दिन नसकेको भन्दै आलोचना गर्नुभएको थियो। देश जोगाउनका लागि प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्न ढिला गर्न नहुने पनि शाहको वक्तव्यमा उल्लेख थियो। वक्तव्यको राजनीतिक दलहरू र शीर्ष नेताहरूले समेत विरोध गरेका थिए।