• ११ मंसिर २०८१, मङ्गलबार

फागुन ११ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइने

blog

हात्तीपाइले विरुद्धको औषधि देखाउनु हुँदै अभियानका संयोजक नागेश्वर यादवलगायत ।

धर्बेन्द्र झा 

धनुषा, फागुन ९ गते। तराई मधेशका जिल्लामा फागुन ११ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय धनुषाले मंगलबार पत्रकारसँग अन्तरक्रिया गर्दै औषधि खुवाइने अभियानबारे जानकारी दिएको हो। 

स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा हात्तीपाइले विरुद्धका तीन प्रकारका औषधि  खुवाइने कार्यक्रम रहेको अभियानका संयोजक नागेश्वर यादवले जानकारी दिनुभयो । उहाँले औषधिसहित स्वास्थ्यकर्मीको टोली धनुषाको १८ वटै पालिकामा परिचालन गर्ने काम भइसकेको बताउनुभयो। 

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको जनक चौकमा फागुन ११ गते मधेश प्रदेशका सामाजिक विकासमन्त्री सुरिता साहको विशेष उपस्थितिमा औषधि खुवाउने अभियानको थालनी गरिने कार्यक्रम रहेको उहाँको भनाइ छ। मधेश प्रदेशका आठ वटा जिल्ला मध्ये धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा यो अभियान सञ्चालन गरिने बताइएको छ। 

मधेश प्रदेशका जिल्लामा हात्ती पाइले रोगीको सङ्ख्या बढी रहेको र यसको विस्तृत सर्भे अभियान सम्पन्न भएपछि चैत्र महिनाबाट  सुरु गरिनेछ। विश्वको ७२ देश मध्ये २८ वटा देशमा  हात्तीपाइले रोगको सङ्क्रमण पाइएको छ।

मधेश प्रदेशका कतिपय जिल्लामा १० पटकसम्म हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउँदा पनि रोगीहरू अझै पनि फेला परिरहेको अभियानका संयोजक यादवले जानकारी दिनुभयो।

 दुई वर्ष मुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडि ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने र अरू सबैले खान मिल्ने स्वास्थ्य कार्यालय धनुषाका स्वास्थ्य अधिकृत शिवजी दासले जानकारी दिनुभयो।