बुटवल, फागुन ८ गते । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले सडक दुर्घटनाबाट हुने अकाल मृत्युबाट नागरिकलाई बचाउन सबैको चासो र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको “नेशनल रोड सेफटी काउन्सिल नेपाल” को आयोजना, नासा नेपाल र सुरक्षित यात्रा अभियान नेपालको संयोजन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा बुटवलमा आयोजित सडक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय जनचेतनामूलक कार्यक्रम बोल्दै मन्त्री पन्थीले उक्त कुरा बताउनुभएको हो ।
‘‘बढ्दो दुर्घटनाका कारण हाम्रो समाज आक्रान्त छ, दुर्घटनाले समाजका योग्य र कुशल नागरिक समेत गुमाउनु परेको छ यस्तो भयावह अवस्था कम गर्न सबैको सहकार्य जरुरी छ,’’ पन्थीले भन्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग बन वातावरण पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादवले दुर्घटना न्यूनीकरणका लागि नागरिक सचेतना जगाउन लुम्बिनी प्रदेश सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो ।
मन्त्री यादवले सडक दुर्घटनाबाट हुने क्षति अकल्पनीय ढङ्गको हुने बताउँदै यसको न्यूनीकरणका लागि विद्यालय स्तरबाटै पाठ्यक्रम आवश्यक रहेकोले मन्त्रालयले सो अनुसारको नीतिगत प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता पनि जनाउनुभयो ।
कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नागरिक सचेत नभए सम्म सडक र सवारीमा हुने अव्यवस्था हटाउन कठिन हुने बताउँदै नागरिकलाई दुर्घटनाका विषयमा सचेत बनाउनु पहिलो आवश्यकता भएको बताउनुभयो ।
लुम्बिनी प्रदेशसभा सदस्य तुलसी प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नासा पाउण्डेसनका महासचिव गोविन्द भटराईले सडक दुर्घटनाको अवस्था र मानवीय क्षतिको नियन्त्रण, अभियन्ता कमला आचार्यले सडक दुर्घटना न्यूनीकरणमा सामाजिक सङ्घ संस्थाहरूको भूमिका, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले लुम्बिनी प्रदेशको ट्राफिक व्यवस्थापनका समस्या र अवस्था तथा सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेले दुर्घटना न्यूनीकरणका लागि नागरिक स्तरबाट भएका कार्यहरू बारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
लुम्बिनी प्रदेशका पेसागत, व्यावसायिक तथा सामाजिक क्षेत्रको प्रतिनिधिहरूको सहभागिता रहेको सो कार्यक्रममा पूर्वाधार नीति, कार्यक्रम तथा सुरक्षित यातायातको दीर्घकालीन योजनाका लागी सुझावहरू प्रस्तुत भएका थिए ।
कार्यक्रमले प्रदेशसभा सदस्य तुलसी प्रसाद चौधरी संयोजक, पूर्व सभासद् दिपा विश्वकर्मा, नेपाल रेडक्रस सोसाइटिका दीपक क्षेत्री न्यौपाने, यातायात व्यवसायी नारायण प्रसाद घिमिरे, दिनेश फुल्लेल, ई.नवसुजित भण्डारी, अधिकारकर्मी रिमा बिसी लगायत रहेको प्रोभिन्स रोडसेफ्टी एलायन्सको सचिवालय गठन गरेको छ ।
कार्यक्रमले नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको सन् २०३० सम्ममा सडक दुर्घटना र यसबाट हुने हताहती तथा घाइतेको सङ्ख्या आधा घटाउने लक्ष्यलाई, प्रदेशको सरकार, पालिका तथा नागरिक समुदायबाट साथ सहयोग तथा समर्थन व्यक्त गर्दै विभिन्न १७ बुँदे बुटवल घोषणा पत्र समेत जारी गरेको छ ।