• १३ साउन २०८१, आइतबार

स्ववियू निर्वाचनको तयारीमा जुट्न अनेरास्ववियुलाई अध्यक्ष ओलीको निर्देशन

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन ५ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्ववियू निर्वाचनको तयारीमा जुट्न पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुलाई निर्देशन दिनुभएको छ । अनेरास्ववियूको नवनिर्वाचित केन्द्रीय कमिटीलाई शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शपथग्रहण गराउने क्रममा उहाँले सो निर्देशन दिनुभएको हो ।

तत्काल स्ववियू निर्वाचनको तयारीमा जुट्नुपर्ने अवस्था रहेकाले नवनिर्वाचित सबै पदाधिकारी तथा सदस्यको काँधमा ठूलो जिम्मेवारी रहेको उहाँले बताउनुभयो । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन आगामी चैत ५ गते हुँदैछ । सो निर्वाचनका लागि आजैबाट अनेरास्ववियुले काम गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ छ । 

उहाँले स्ववियू निर्वाचनमा टिक्न नसकेकै कारण नेविसंघको जन्म भएको उल्लेख गर्दै उसलाई परास्त गर्नेगरी अन्य सङ्गठनहरुसँगको सहकार्यलाई अघि बढाउन पनि अनेरास्ववियु सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘फेरी चैत ५ गते स्ववियू निर्वाचन आउँदैछ । नेविसंघ स्ववियू निर्वाचनमा टिक्न नसकेर जन्मेको सङ्गठन हो । फेरि भिड्न आउँदैछ । अव तपाईहरुले त्यसको तयारी गरिहाल्नुपर्छ ।” अब करिब एक महिना समय बाँकी रहेकाले शालीन र नम्र व्यवहार गरेर नेतृत्व लिनेगरी तयारी थाल्न उहाँले निर्देशन दिनुभयो । 

ओलीले अनेरास्ववियूका नेतालाई अहंकार नलिई काम गर्न पनि आग्रह उहाँले गर्नुभयो । अहंकार र दम्भले आफैं सकिने भएकाले अनेरास्ववियुका नेता, कार्यकर्ताहरुले त्यस्ताखालको गतिविधि गर्न नहुने उहाँले बताउनुभयो । अनेरास्ववियुको हिजो सम्पन्न २३ औं राष्ट्रिय महाधिवेशनले समिक बडालको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन गरेको छ ।