• ९ मंसिर २०८१, आइतबार

आखिर प्रेम के हो ? (कथा)

blog

अचम्म लाग्छ उसको कुरा सुन्दा । मभन्दा सातै वर्ष कान्छी त हो मेरी बहिनी । तर त्यही सात वर्षले उसमा कत्ति साहस र आत्मविश्वास भरिदिएको छ । ऊ आफ्नो जीवनको हरेक निर्णय आफैँ गर्दछे । तर मैले मेरो जीवनको महìवपूर्ण निर्णय पनि गर्न नसकेर दिदी मरेको ४८ दिनमै मभन्दा १७ वर्ष जेठो दुई छोराको बाबु भइसकेका भिनाजुको कान्छी श्रीमती भएर भित्रिनु प¥यो । 

बाबु आमाले जेठो ज्वाइँ र दुई नातिको मायाले मलाई बलि चढाएभन्दा पनि हुन्छ । मेरा लागि जिज्ञासा र कौतुहलको विषय थियो सुहागरात तर अनुभवी भिनाजुले मेरो बलत्कार गरे त्यो रात भन्दा पनि हुन्छ । भोलिपल्टदेखि मेरो वैवाहिक जीवन दुई छोरा र श्रीमान्को सेवा सुसारमै बित्यो । 

बहिनीले पढी, बीए पास गरी । कहिलेकहीँ खै किन हो मेरो वैवाहिक जिन्दगीका बारेमा केके प्रश्न गर्दथी । उसले सोधेका पश्नको जवाफ म निसङ्कोच दिन्थेँ । 

म सायद ऊसित घैलाको पानी घोप्ट्याएजस्तै घोप्टिन्थे होला र त ऊ लामो सुस्केरा हालेर भन्ने गर्दथी, “दिदी तिमीले बाबुआमाको देखावटी इज्जतका लागि आफ्नो जिन्दगीको बलि चढायौ नि । आफ्नो मन, आफ्नो शरीरको मालिक आफू हुनुपर्नेमा अरूलाई मालिक हुन दियौ र आज यसै नियास्रिएर बस्न बाध्य भयौ । माया लाग्छ दिदी तिम्रो यो अवस्था देख्दा । तिमीले यौवन अवस्थामा हुने शारीरिक, मानसिक कुनै पनि परिवर्तनको अनुभव नै गर्न पाइनौ । 

शारीरिक परिवर्तन सँगसँगै मनमस्तिष्कमा उब्जिएका जिज्ञासा तथा उत्सुकताहरूको अनुभव खै तिमीले गर्न पायौ ? यति मात्र कहाँ हो र दिदी ! पढ्न नपाएर शिक्षाको उज्यालोबाट वञ्चित भएकी तिमी, लोग्ने र छोराछोरी गर्दै घरगृहस्थीमा डुबेर कुवाको भ्यागुतो नै भयौ । हेर त मैले पढे, आफैँ कमाउँछु आफैँ खर्च गर्छु तर तिमी, भन्नलाई त त्यत्रो सम्पत्तिको मालिक्नी भनेको छ तर १० रुपियाँका लागि भिनाजुसित हात पसार्नुपर्छ । तिमीले आफ्नो जिन्दगी खत्तम ग¥यौ । 

कहिलेकाहीँ दिक्क लाग्दा बहिनीका यी कुरा सम्झन्छु । मनमा औडाहा हुन्छ । खै किन किन पानीबाट बाहिर निकालिएको माछाजस्तो धेरै छटपटिन्छु म । अन्त्यमा सधैँ मनलाई बुझाउने एउटै अस्त्र छ मसित– के गर्नु मेरो भाग्य मै यस्तै रहेछ ।

पहिले दिदीसित जोडिएको साइनोले भिनाजु भनेको अहिले पनि मलाई श्रीमान्लाई अरू सम्बोधनले बोलाउन आउँदैन भिनाजु नै भन्छु । भिनाजु दुई हप्तालाई दुबई जानु भएकाले मैले बहिनीलाई आफ्नै घरमा बोलाएको थिएँ, दुई चार दिन बस्दै आइज न भनेर । 

ऊ दिनभर त घरमै बसेर अफिसको काममा व्यस्त रहन्थी भने साँझ बिहान पनि कोको सित फोनमा व्यस्त रहन्थी । ऊ आउन त आई तर कोरोनाको डरले पहिलेजस्तो बिदाका दिनमा पनि बाहिर बजारतिर र रेस्टुरेन्टमा जान एकदमै डराउने भएर आई । एक दिन शनिबार दिउँसो हामी दिदीबहिनी कौसीमा बसेर सुन्तला खाँदै थियौँ । बहिनीको मोबाइलमा फोन आएको घन्टी बज्यो टिङ्टिङ । ‘हेलो’ बहिनीले भनी ।

...........................

उताबाट बोल्नेले के भन्यो मैले थाहा पाइन तर बहिनी यत्ति खुसी भई कि उफ्रेर कौसी नै भत्काउँलाझँै गरी । घरी उफ्रन्छे घरी मलाई आएर अँगालो मार्दछे । म निःशब्द उसको उफ्राइमा बालापन देखिरहेको थिएँ । “के भयो तँलाई किन बौलाहेकी ?”

“दिदी सुदेश आएछ, मलाई सरप्राइज दिन नभनी आएको रे । एयरपोर्टबाट कल गरेको ।”

“को हो सुदेश ?” 

मेरो प्रश्नमा बहिनी मुस्कुराउँछे । अलिअलि लजाए जस्तो अनुहार बनाउँदै भन्छे “मेरो मुटुको धड्कन, मेरो मायालु । पेरिसमा थियो आज आएको ।” 

“अनि तैँले त कहिल्यै कुरा पनि गरेकी थिइनस् त उसको बारेमा ?”

छ वर्ष भयो दिदी हाम्रो लभ सुरु भएको । तर फेसबुकमा मात्र कुरा हुन्थ्यो भेट भएको छैन । भेट्दै नभेटेको मान्छेको बारेमा के कुरा गर्नु ? 

छ वर्षदेखि प्रेम गरेको केटाको बारेमा नभेटी कसैसित कुरा नगरी बस्ने बहिनीको सोच देखेर अचम्म लाग्यो । म चुप लागेको देखेर होला बहिनीले मलाई अङ्कमाल गर्दै भनी “के सोच्नु भएको दिदी ! पहिले मलाई भेट्न दिनु मलाई उसको सबै कुरा मन प¥यो भने त्यसपछि भेटाउने त हजुरलाई नै त हो । आखिरमा बुवाका अगाडि कुरा त हजुरले नै त पु¥याउने हो नि ।” 

“अनि एयरपोर्ट लिन जाने अब ?” कोठामा छाएको मौनतालाई चिर्दै मैले भने ।

“होइन, नजाने । उसलाई लिन उसको पूरै परिवार एयरपोर्ट आएका छन् रे । भोलिसम्ममा समय मिलाएर ऊ मलाई एक्लै भेट्न चाहन्छ रे ।” लाग्छ उसले रोजेको, मनमा राखेको प्रेमी नै मै हो कि जस्तो गरेर । 

ऊ मलाई हेरेर झिमिक्क देब्रे आँखा झिम्क्याउँछे । उसको ताल देखेर म पनि नहाँसी बस्न सक्दिनँ ।

उमेरमा चाहेको प्रेमी भेट्न कति आतुर छ ऊ भन्ने कुरा उसले रातभरि सुत्न नसकेर छट्पटिएको र बाथरुम दौडँदै प्रेमीसित कुरा गरेकोबाट मैले थाहा पाइरहेको थिएँ । आधा घण्टा बिस्तरामा सुत्न नपाउँदै दुई घन्टा बाथरुममा बसेर गफ गर्ने के मात्र गफ होला त्यस्तो ? लभ गरेको भनेको यही होला । आफ्नो त सुहागरातमा पनि माया कम, घरको जिम्मेवारी, छोराहरूको लालनपालन आदि कुरा सम्झाउँदै बितेको थियो बुढाले । प्रेम गरेर मायालु शब्दले बोलाएको त आजसम्म पनि थाहा छैन । बहिनीको जिन्दगी कति आनन्द लभको आनन्द पनि लिन पाई भोलि लोग्नेको सुक्ख पनि पाउँछे । म पनि यस्तै सोच्दै कुन बेला निदाएँ थाहै पाइन । बिहान म उठ्दा बहिनी तयार भइसकेकी थिई बाहिर जाने पोसाकमा । बिहानै पशुपतिमा भेट्ने कुरा भएछ ।

मेरो दराजभरिका लुगा सबै दराज बाहिर भुइँभरि छरिएको देखेर बिस्तराबाटै सोधेँ, “के गरेको यस्तो ?”

“लुगा छानेकी नि, मेरा राम्रा लुगा सबै घरमै छन्, हजुरसित मन्दिर जाँदा लाउनुहुने कुनै छ कि भनेर हेरेको के हुनु बूढाले किनिदेको लगाउनेसित । अनि फेरि लगाएँ आफ्नै जिन्स ।” हजुरलाई फुर्सद भयो भने मिलाउनु नत्र म आएर मिलाई दिउँला भरे ।” ऊ उसले सकेसम्म आफूलाई राम्री बनाएर बाटो लागि । पहिलो भेटमा के गर्ने, के भन्ने कसरी अगाडि पर्ने जस्ता कुराले बहिनीलाई पिरोलिरहेको थियो । 

बहिनी हिँडेपछि धेरैबेर म त्यसै टोलाएँ । मलाई बहिनीदेखि कहिल्यै ईश्या लागेन तर उसका हरेक भनाइ र उसका क्रियाकलापमा भने आफूलाई नदाँजेको कुनै क्षण हँुदैन थियो ।

दिउँसो तीन बजेतिर बहिनी कोठामा पसी । पानी पर्न लागेको कालो आकासजस्तै कालो अनुहार लगाएर । बाहिरबाट आएपछि हातखुट्टा धोएर लुगा नफेरि खाटमा बस्न नदिने मेरी बहिनी सीधै गएर बिस्तरामा पल्टिई । बाहिरबाट आउँदा आज उसको शरीरमा कोरोनाको किटाणु ल्याएकी छैन जस्तो ।

“के भयो थाकिस् ? हातखुट धोएर त पल्टी बिस्तरामा, सीधै के गएकी ?”

“दिदी मलाई सुदेश मन परेन । मान्छे मोबाइलमा कुरा गर्दा ठिकै लाग्थ्यो तर छ वर्षदेखि उसलाई पर्खेर गल्ती गरेँछु । “गला भारी बनाउँदै बहिनीले भनी । दराजको लुगा पट्याउन छोडेर म उसको नजिकै पलङकै छेउमा गएर उभिएँ । मलाई केही सोध्न मन लागेन तर के भयो भन्ने जान्न मन लागेको थियो । 

सायद मेरो अनुहारमा देखिएका प्रश्नहरू उसले पनि पढिहोला । पल्टिएकी बहिनी उठेर बसी र ब्यागबाट एउटा नयाँ घडी निकालेर भुइँमा फाल्दै भनी, “हेर्नु न स्टोप वाचको समयमा मलाई यस्तो पाखेले लगाउने जस्तो घडी ल्याइदिएको ।”

“उसलाई के थाहा त, तलाई के मन पर्छ भनेर । उसले ल्याउने उपहार त उसकै रोजाइकै त हुन्छ नि ।” मेरो भनाइले त झन् आगोमा घिउको काम गरेजस्तो लाग्यो । 

ब्यागबाट एउटा सानो झोला निकालेर भुइँमा फ्याँक्दै बहिनीले भनी, “दिनमा चार घण्टा मसित कुरा गरेर बिताउने मान्छेले मेरा लागि गिफ्ट किन्दा मलाई सोध्नुपर्दैन मलाई के मन पर्छ भनेर ।”

ब्यागबाट दुई तीनवटा लिपिस्टिक उछिट्टिए भने एउटा रातो मोतीको जस्तो माला पनि बाहिरियो । ब्यागभित्र केके थियो, मैले हेर्न पनि चाहिनँ । 

बहिनीको सोचाइ मेरोभन्दा भिन्न छ थाहा छ तर आजको उसको ताल देखेर म नै छक्क परेकी छु । मलाई त लाग्थ्यो प्रेम समर्पण र आत्मसन्तुष्टि हो । यस्तै उपहार मेरा श्रीमान्ले मलाई ल्याइदिएको भए म कति खुसी हुने थिएँ होला । त्यो सामान लगाएर बसिदिँदा उहाँ कति खुसी हुनुहुन्थ्यो होला र उहाँमा देखिएको त्यो खुसीले मलाई कति आत्मसन्तुष्टि मिल्ने थियो होला । मेरो दिमागमा यस्तै कुरा खेल्दै 

पहेँलो पात सबै झरेर नाङ्गो रूख ठिङ्ग उभिएजस्तो आफ्नै खुट्टाले टेकेको जमिनमाथि जडवत् भएर ठिङ्ग उभिरहेँ म । धेरैबेर कोठामा मौनता छायो । खाटमा पल्टिएकी बहिनी न ऊ बोल्छे न त म नै केही बोल्न सकेँ । बेलुका भएपछि दुई चार पल्ट फोनको घन्टी त बज्यो तर बहिनीले फोन उठाइन् । फोन नउठाएको देख्दा मलाई लाग्यो, उसको प्रेमीकै फोन आएको होला । पछि त फोनकै स्विच अफ गरेर बहिनी सुती । 

भोलि पल्ट दुई बजेतिर केटा नै घरमा आइपुग्यो । पातलो, अग्लो, कालोकालो वर्णको अनुहार राम्रो परेको केटा देख्दैमा मलाई पनि बहिनीले छ वर्ष पहिले पनि गतिलो केटा रोजिछ भन्ने लाग्यो । उनीहरूलाई चिया दिएर म आफ्नै काममा लागेँ । केही बेरमा दुवै जना बाहिरिए । कुरा मिलेछ भनेर किन किन म पनि ढुक्क भएजस्तो भएँ ।

एक घण्टा पनि नभई बहिनी फर्किई । “भर्खर त निस्केका थियौँ, चाडै पो फर्किइस् त ?” 

ब्याग र चस्मा भुइँमै फ्यालेर बहिनी थ्याच्च सोफामा बसी । “छ वर्षदेखिको लभ आजबाट ब्रेकप गरेर आएकी ।” बहिनीको कुराले म नै झसङ्ग भएँ । उसको नजिकै बस्दै सोधेँ, “किन के भयो ?”

त्यसले ल्याएको लगाउने, उसले खा भनेको कुरा मैले खानुपर्ने, उसले भनेको मैले मान्नै पर्ने मलाई त्यसले के सम्झिएको ? त्यसको नोकर्नी हो कि म उसको प्रेमीका हो ? कस्तो हेपाहा प्रवृत्तिको मान्छे रहेछ ।”

“उफ् के भयो फेरि ? त पनि मेरो गोरुको बाह्रै टक्का भन्ने जिद्दी स्वभाव कि छेस्, अलिअलि त सहनु पनि पर्छ नि नानी आइमाईले ।” 

के मेरो गोरुको बाह्रै टक्का नि, हजुर जस्तो म हैन के, हजुरको र मेरो विचार नै मिल्दैन के । हजुर जस्तो त्यागको मूर्ति म कहाँ बन्न सक्छु र ? 

अनि घरबाट निस्किँदा त ढुकुरको जोडीजस्ता भएर निस्किएका थियौ त फेरि के भयो र छ वर्षको लभ भेटेपछि छ दिन पनि नपुग्ने ?”

मलाई उसको व्यवहार नै मन परेन, कफी खान जाऊँ भने कफीसपभित्र पस्नासाथ तिमी कुन कफी खान्छौ भनेर सोध्नुपर्दैन, सीधै दुईवटा ब्याल्क कफी रे बा ! जसले भेटेदेखि उसको सोच र चाहना तल मलाई दबाउँछ भने उसको सिन्दुरले त झन् मलाई दास नै बनाउँछ जस्तो लाग्यो । मैले त त्यही भनेर आएँ, “आजबाट तिम्रे र मेरो सम्बन्ध अगाडि बढ्न सक्दैन । 

म तिमी बराबरको तिम्रो श्रीमती बन्न चाहन्थेँ तर तिमीलाई श्रीमती हैन खेलौना चाहिएको रहेछ, उठभन्दा उठ्ने बसभन्दा बसने । ल भइगयो छ वर्ष बोलेको त हो नि के बिग्रिएको छ ? केटाकेटीहरू किन लभ गर्छन् एकअर्काको नजिक हुन होइन र दिदी मलाई लागेको थियो सुदेशले भेट्नासाथ मलाई अङ्कमाल गर्ला भन्ने तर उसले त नमस्ते के छ खबर पो भन्यो । कफीसपमा पनि मेरो नजिक नबसे र अगाडि बस्न पुग्यो । हजुरलाई भिनाजुले पहिलो रात नै छोड्नु भएन भने मैले छ वर्ष कुरेर भेटेको प्रेमीले मलाई छुँदा पनि छोएन हुतिहारा । कस्तो केटीको सामीप्यता पनि नचाहने केटा रहेछ छिः ! यस्तो केटासित के लभ गर्नु ? खुट्टा भए जुत्ताको के पीर, आइहाल्छन् नि लाइन लागेर ।” 

बहिनीको कुरा सुनेर म स्तब्ध भएँ । मनमनै प्रश्न गरेँ, आखिर प्रेमको परिभाषा के त ? प्रेमअनुभूति हो कि, त्याग हो कि । स्पर्श हो कि अहमता हो ? आखिर प्रेम हो चाहिँ के ?