विष्णुप्रसाद पोखरेल
दमक, फागुन ३ गते। प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को तयारी पुरा भएको छ। फागुन ७ गतेदेखि हुने गोल्डकपको तयारी पुरा भएको हो। गोल्ड कप मूल आयोजक समितिले खेल तालिका सार्वजनिकसहित तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
गोल्डकपका अध्यक्ष दिपेश ढकालका अनुसार भद्रपुरको मेची रङ्गशालामा हुने खेलका लागि करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिट बनेको छ। प्यारापिट मर्मत, रङरोगन तथा बाँसको अस्थायी प्यारापिट पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
पहिलो पटक भद्रपुरमा हुन लागेको गोल्डकपमा नेपालका साथै भारत, भुटान र बंगालादेशको टिमको सहभागिता रहने छ। गोल्ड कपको विजेताले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्ने ढकालले जानकारी दिनुभयो।
फागुन १६ गते सम्पन्न हुने गोल्डकप प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपियाँ प्रदान गरिने छ। खेल तालिकाका अनुसार उद्घाटन खेल आयोजक भद्रपुर ब्लेजर्स र जयगाउँ फुटबल क्लब भारतबीच हुनेछ।
नेपालका ७ र भारत, भुटान र बङ्गलादेशका एक/एक वटा गरेर १० टिम सहभागी रहनेछन्। झापाको सबैभन्दा पुरानो भद्रपुर रङ्गशालालाई व्यवस्थित बनाउँदै प्रतियोगिता गर्न लागिएको हो।