• १३ साउन २०८१, आइतबार

एकीकृत समाजवादी र जसपाबीच पार्टी एकताको प्रक्रिया जारी

एकता प्रक्रियामा माओवादी, जसपा र एस : समाजवादी मोर्चा बनाउने तयारी

blog

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', अध्यक्ष माधवकुमार नेपाल र अध्यक्ष उपेन्द्र यादव ।

काठमाडौं, फागुन ४ गते । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकीकरणका सम्बन्धमा छलफल चलिरहेको छ । माओवादी केन्द्रले वाम शक्तिको एकताका लागि पहल गर्दै गर्दा एकीकृत समाजवादी र जसपाले निरन्तर रूपमा आन्तरिक छलफललाई अगाडि बढाएका छन् । 

जसपाले नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा विचार मिल्ने पार्टीसँग पार्टी एकताका लागि वार्ता समिति बनाएको छ । श्रेष्ठ संयोजक रहनुभएको समितिमा गोविन्द चौधरी र रकम चेम्जोङ सदस्य हुनुहुन्छ।

जसपाले बनाएको पार्टी एकता कार्यदलका संयोजक राजेन्द्र श्रेष्ठले एकीकृत समाजवादीसँग पार्टी एकताको कुराकानी हुँदै आएको जानकारी दिनुभयो ।

यस विषयमा एक–अर्काको डकुमेन्ट अध्ययन भइरहेको उहाँको भनाइ छ । नेता श्रेष्ठले भन्नुभयो, “उहाँहरूले हाम्रो डकुमेन्टहरू अध्ययन गर्दै हुनुहुन्छ । हामी पनि उहाँहरूको वैचारिक, सैद्धान्तिक सवालमा अध्ययन गर्दैछौं ।” यस विषयमा प्रक्रिया अगाडि बढाउने विषयमा पनि छलफल भइरहेको उहाँको भनाइ छ । 

छलफलका प्रमुख तीन सवाल

नेताहरूका अनुसार नीति, सिद्धान्त र विचार यी तीन कुरामा मुख्यरुपमा छलफल चलिरहेको छ । यसका लागि छुट्टा–छुट्टै कार्यदल भने बनेको छैन । एकीकृत समाजवादीका डा. विजय पौडेल र जसपाका गोविन्द चौधरीले संयुक्त रूपमा अध्ययन एवम् छलफल गर्दै आउनुभएको छ। 

“साझा टिमको नीति, सिद्धान्त, विचार के–के मिल्छ, मिल्दैन भन्ने छुट्याउनका लागि कार्यदलभित्र एउटा टिम बनेको छ । आ–आफ्नो कार्यदलले अध्ययन गर्दछौँ। वार्ता समितिबीच वार्ता जारी छ, हाम्रोबाट एक जना, उनीहरूबाट एक जना राखेर काम अगाडि बढ्छ । एकीकृत समाजवादी र जसपाबीच मिलेको कुरामा सहकार्य गर्ने, नमिलेकोमा मिलाउँदै जाने तयारीमा छौँ।” श्रेष्ठले भन्नुभयो ।

वैचारिक र सैद्धान्तिक सहमतिपछि प्राविधिक कुरामा पनि सहमति हुने उहाँको भनाइ छ । 

माओवादीको वार्ता समिति सक्रिय 

पुसको अन्तिम साता बृहत् वाम एकता गर्ने भन्दै पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा माओवादी केन्द्रले वार्ता समिति बनाएको छ । समिति सदस्यमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत हुनुहुन्छ । समितिले डा. बाबुराम भट्टराई, एकीकृत समाजवादीलगायत दलसँग एकताका लागि छलफल गरिरहेको छ । 

केही दिनअघि माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी (सुशील)सँग एकताको निर्णय भएको छ । दुई पार्टी एकताका वैचारिक आधारबारे छलफल भएको र केही दिनमै एकता गरेर अगाडि बढ्ने सहमति भएको छ । छलफलमा माओवादीको तर्फबाट वार्ता समिति संयोजक महरा र सदस्य पोखरेल सहभागी हुनुहुन्थ्यो ।

माओवादी समाजवादीतर्फबाट अध्यक्ष बुढाथोकीसँगै उपाध्यक्ष तिलक मगर सहभागी हुनुहुन्थ्यो । माओवादी केन्द्र र एमालेबीचको एकताप्रति असहमत भएर गोपाल किराँतीले माओवादी केन्द्र नाममै राजनीतिक सक्रियता जारी राखेपछि उहाँहरू किराँती समूहमा हुनुहुन्थ्यो । 

माओवादी केन्द्रका महासचिव एवम् वार्ता समितिका सदस्य देव गुरुङले छिट्टै सहमति भएकासँग एकता गर्ने र नभएकासँग पनि सहमतिका लागि छलफल चलिरहेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीबीचमा पार्टी एकता नै गर्ने र विचार मिल्नेसँग समाजवादी केन्द्र बनाउने विषयमा औपचारिक तथा अनौपचारिक कुराकानी अगाडि बढेको बताउनुभयो ।

गुरुङले भन्नुभयो, “वार्ता समितिको औपचारिक र अनौपचारिक कुराकानी चलिरहेको छ । त्यही आधारमा छिट्टै सहमति भएकासँग एकता गर्ने । कम्युनिष्ट पार्टीसँग त कम्युनिष्ट एकता नै गर्ने कुरा हो, बाँकी समाजवादी केन्द्र, मोर्चा बनाउने कुरा छ।”

जसपासँग पनि पार्टी एकताको जिज्ञासा सम्बन्धमा उहाँले कम्युनिष्ट पार्टी नमान्ने र समाजवाद मान्नेसँग संयुक्त मोर्चा बनाउन सकिने भनाइ राख्नुभयो । “समाजवाद त मान्नुहुन्छ तर, कम्युनिष्ट पार्टी मान्नु हुन्न, संयुक्त मोर्चा बनाउने कुरा भयो”, माओवादी केन्द्रले पूर्वमाओवादी घटक प्रायः सबैसँग पार्टी एकताको कुरा भइरहेको उहाँले बताउनुभयो ।

अन्य तीन पार्टीसँग एकताको प्रस्ताव

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, कुमार लिङ्देनको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, केपी पालुङ्वाको राष्ट्रिय जनमुक्ति पार्टीलाई एकताको प्रस्ताव पठाएको जसपा वार्ता समिति संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सङ्गठनको अध्यक्ष को हुने ? पार्टीको नाम के राख्ने ? झण्डा र चुनाव चिह्न कस्तो बनाउने ? यी प्राविधिक कुरा हुन् । वार्ता समितिले मिलाउन सकेन भने पार्टीका अध्यक्षहरू बसेर जे टुङ्गिन्छ त्यो दुवै पक्षले स्वीकार गरेर अगाडि बढ्छौँ।”

वार्ता समितिले यसको सघन रूपमा छलफल गर्ने र समितिमा कुरा नटुङ्गे एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका अध्यक्षद्वय माधवकुमार नेपाल र उपेन्द्र यादवसहितको बैठकले अन्तिम कुरा टुङ्ग्याउने वार्ता समिति संयोजक श्रेष्ठले बताउनुभयो ।

“नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्तिलाई एकताका लागि प्रस्ताव मात्रै पठाइएको छ । अशोक राई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ सँगै काम गरेका मान्छे हौँ ।” उहाँले भन्नुभयो । 

यसअघि सँगै रहेका र फरक अस्तित्वमा रहेका नेताबीच एकताको छलफल भए पनि डा. भट्टराई र महन्थ ठाकुरसँग भने यसखाले छलफल अघि नबढेको श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठ भन्नुहुन्छ, “हाम्रो एउटा राष्ट्रिय पार्टी हो । एक नम्बरको प्रोटोकलमा अशोक राई हुनुहुन्छ । खास क्षेत्र, खास जाति र खास समुदायको राजनीति गर्दैनौँ । लोसपासँग भर्खर छुटेर गएकाले वार्ता भएको छैन ।’’

खासगरी वाम लोकतान्त्रिक चिन्तन भएकासँग एकताको कुरा अघि बढेको उहाँले बताउनुभयो । विगतमा माग र मुद्दा मिलेको आधारमा लोकतान्त्रिक समाजवादी पार्टीसँग एकता गरिएको तर टिक्न नसकेको उहाँले सुनाउनुभयो । नेताले पार्टी एकता गरौँ भनेर मात्र एकता सम्भव नभएको उहाँले प्रष्ट पार्नुभयो । 

समाजवादी मोर्चा बन्छ : एकीकृत समाजवादी

यता, एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले समाजवादी मोर्चा बन्ने गरी वार्ता, छलफल भइरहेको बताउनुभयो । जनता समाजवादी पार्टीसँग एकताका लागि छलफल चलिरहे पनि ठोस निष्कर्षमा पुगिनसकेको उहाँको भनाइ छ ।

पौडेलले भन्नुभयो, “वार्ता भइरहेका छन् । ठोस निष्कर्ष निस्किसकेको छैन । जनता समाजवादीलगायतको मोर्चा बन्ला । अहिले जनता समाजवादीसँग र माओवादीसँग पनि वार्ता भइरहेको छ । उहाँहरू सरकारमा र हामी विपक्षी हुँदासम्म एकता हुँदैन । समाजवादी मोर्चा मात्र बन्छ ।”

डा. पौडेलले एकअर्काको विचार र नीतिलगायतको डकुमेन्ट मिल्ने र नमिल्ने कुरा छुट्याउने काम अहिले भइरहेको बताउनुभयो ।

“डकुमेन्टमा आधारित भएर एकता हुन सक्छ कि सक्दैन । अथवा, एकता भएन भने मोर्चा बन्न सक्छ कि बन्दैन भनेर छलफल भइरहेको छ ।” पौडेलले भन्नुभयो ।

जसपासँगै पार्टी एकता नै गर्न भने लामो प्रक्रिया लाग्न सक्ने उहाँको भनाइ छ । तर, समाजवादी अभियानका लागि मोर्चा बनाउने विषयमा भने आफू नजिकै पुगिसकेको उहाँले बताउनुभयो ।

“समाजवादी अभियानका लागि मोर्चा बनाउन हामी नजिकै पुगेका छौँ । माओवादी र मसाललगायत सबैसँग प्रयास गरिराखेका छौँ । नागरिक उन्मुक्तिसँग छलफल गर्न भ्याएका छैनौँ, अब गर्छौँ ।” उहाँले भन्नुभएको छ।

कार्यगत एकताको ठोस कार्यक्रम विकास हुँदै

यसैबीच, विगत केही समयदेखि संयुक्त मोर्चाको रूपमा कार्यक्रम गर्दै आएको ऋषि कट्टेलको नेपाल कम्युनिष्ट पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’को नेपाल कम्युनिष्ट पार्टी, आहुतिको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र कर्णजित बुढाथोकी ‘सुशील’ को नेकपा (माओवादी समाजवादी)बीच शुक्रबार पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गर्ने सहमति भएको छ । 

वर्तमान राजनीतिक अवस्था गम्भीर रहेको निष्कर्ष निकाल्दै आगामी फागुन १५ गतेको बैठकले यसको निर्णय गर्ने साना चार कम्युनिष्ट पार्टीले जनाएको छ । 


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।