• १३ वैशाख २०८१, बिहिबार

स्रोतमा फोहाेर वर्गीकरण गर्नै चुनौती

blog

काठमाडौँ,  फागुन ३  गते । काठमाडौँ महानगरपालिकाले सात महिनादेखि स्रोतमा फोहाेर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्ने भने पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । फोहाेर व्यवस्थापन कार्य प्रभावकारी बनाउन कामपाले गत साउन १ गतेदेखि स्रोतबाटै कुहिने र नकुहिने फोहाेर वर्गीकरणको काम थाल्यो । कामपाको ३२ वटै वडामा अझै उक्त किसिमले फोहाेरको वर्गीकरण हुन सकेको छैन । सुरुमा केही दिन नगरवासीले घरबाट नै वर्गीकरण गरी ल्याउने गरे पनि अहिले सबै किसिमको फोहाेर एउटै भाँडोमा राखेर व्यवस्थापनको काम भइरहेको छ ।

कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार अहिले पनि केही वडाबाट फोहाेर वर्गीकरण गरी ल्याइन्छ । केही वडाबाट सबै फोहाेर एकै ठाउँमा राखेर व्यवस्थापन गर्नुपरेको छ ।

प्रमुख श्रेष्ठले भन्नुभयो, “कुहिने फोहाेर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्न स्थान खोज्ने काम भइरहेको छ, त्यसबारे कामपाले केन्द्र सरकासँग छलफल गरिरहेको छ । स्थान प्राप्त हुनेबित्तिकै स्रोतमा नै फोहरको वर्गीकरण गरी प्रभावकारी रुपमा कार्यान्वयन हुन्छ ।”

परीक्षणका रुपमा यसै हप्तादेखि टेकु ट्रान्सफर स्टेसनमा नै कुहिने फोहाेरलाई मल बनाउने काम सुरु हुन्छ । “यो सँगै उपत्यकाको अन्य केही स्थान र काठमाडौँ उपत्यकाको अन्तिम फोहाेर व्यवस्थापन स्थान बञ्चरेडाँडामा पनि कुहिने फोहाेर अलग राखेर मल बनाउने काम सुरु गर्ने तयारी कामपाको छ”, प्रमुख श्रेष्ठले भन्नुभयो ।

तत्कालका लागि स्थान अभावकै कारणले यो काम प्रभावकारी हुन नसकेको बताइएको छ ।

अन्तिम फोहाेर व्यवस्थापन स्थानमा फरक किसिमले व्यवस्थापनको प्रबन्ध गरेसँगै  पुनः साउन पहिलो साताझैं  स्रोतमा नै फोहाेर छुट्टयाएर काम हुने विश्वास कामपाको छ ।

कामपाको कुल ३२ मध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहाेर व्यवस्थापन हुँदै आएको छ । वर्गीकरण योजना सबै वडामा लागू गरिएको छ ।

हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहाेर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहाेर जान्छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहाेर ओसार्छन् ।

अन्तिम फोहाेर व्यवस्थापन स्थान बञ्चरेडाँडामा दैनिक एक हजारदेखि एक हजार दुई सय मेट्रिक टनसम्म फोहाेर जाने गरेको छ । उपत्यकाको १८ पालिकाको फोहाेर दैनिकरूपमा उक्त स्थानमा पुग्छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहाेर व्यवस्थापन गरिँदै आएको हो ।

विसं २०६८ मा सरकारले जारी गरेको फोहाेरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने कानुनी व्यवस्था छ ।

ऐनमा फोहाेरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहाेरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ ।