• १३ मंसिर २०८१, बिहिबार

रगत अभावपछि नियमित रक्तदान

blog

बुटवल समाचारदाता

बुटवल, फागुन २ गते । रुपन्देही जिल्लाभर रगत अभाव भएपछि बुटवलमा नियमित रक्तदान अभियान सञ्चालन गरिएको छ। बुटवलमा क्रियाशील विभिन्न सङ्घसंस्थाले बिरामीका लागि आवश्यक रगतको अभाव पूर्ति गर्न दैनिक रक्तदान कार्यक्रम गर्न अभियान नै थालेका छन्। 

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बुटवलमा दैनिक ९० पिन्ट रगत आवश्यक पर्ने बताउनुभयो। बुटवलमा कुनै बेला अति दुर्लभ मानिएको ब्लड ग्रुपको रगत मात्र अपुग हुने गरेकोमा अहिले भने सवै ग्रुपको रगतको माग रहेको उहाँले बताउनुभयो। 

विशेषगरी मिर्गौलाका बिरामी, रक्तअल्पता र शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि रगतको माग आउने गरेको अध्यक्ष क्षेत्रीले बताउनुभयो। यहाँका विभिन्न सङ्घसंस्थाले दैनिकजसो रक्तदान गर्दै आएका कारण रगतको माग धान्न सकिएको छ। 

पछिल्लो समय भने रगत अभाव भएको छ। नेपाल रेडक्रस सोसाइटी बुटवल शाखाले बुटवललगायत वरिपरिको क्षेत्रमा दैनिक रक्तदानका कार्यक्रम हुने गरेकाले रगतको समस्या पूर्ति गर्न सहयोग पुगेको जनाएको छ। रेडक्रस बुटवल शाखाले रक्तसञ्चार केन्द्रमार्फत विभिन्न अस्पतालबाट रगत माग हुँदा रगत उपलब्ध गराउँदै आएको छ। बुटवल क्षेत्रमा हुने रक्तदानमा रेडक्रसले रगत सङ्कलन, भण्डारण र वितरणमा सहजीकरण गर्दै आएको छ। 

यता बुटवल उपमहानगरपालिकाले स्थानीय बासिन्दाका लागि रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने जनाएको छ। उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो।