• १३ साउन २०८१, आइतबार

आजको बिदाले गणतन्त्र प्राप्तिका लागि बगेको रगतको सम्मान भयो : उपराष्ट्रपति

blog

उपराष्ट्रपति नन्दबहादुर पुन । फाइल तस्बिर

काठमाडौं, फागुन १ गते। उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवसको नाममा सरकारले बिदा दिएर नेपाली राजनीतिमा जनयुद्धले पुर्‍याएको उच्चतम योगदानको सम्मान गरेको बताउनुभएको छ। 

सोमबार जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आजको बिदाले गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान भएको बताउनुभयो। 

उहाँले बिदालाई लिएर पूर्वाग्रह राख्नेले जेसुकै भने पनि सङ्घीय सरकारले सार्वजनिक बिदा दिनुअघि नै मधेश, बागमती र कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने तयारी गरेको बताउनुभयो। 

उहाँले जनताको जीवनमा परिवर्तनको अनुभूति गराउन नसके चुनौतीको चाङ लाग्ने र परिवर्तनप्रति नै प्रश्न उठ्ने पनि बताउनुभयो। उहाँले यसप्रति सबै प्रदेश सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, "आज केन्द्र सरकारले दिएको बिदाले नेपाली राजनीतिमा जनयुद्धले पुर्‍याएको उच्चतम योगदानको सम्मान गरेको छ। गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान गरेको छ। यसमा पूर्वाग्रह राख्नेले चाहे जे सुकै किन नभनुन्, सङ्घीय सरकारले सार्वजनिक बिदा दिनुअघि नै मधेश, बागमती र कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने तयारी गरेको थियो। हामीले जनताको जीवनमा परिवर्तनको अनुभूति गराउन नसके चुनौतीको चाङ लाग्नेछ र यो परिवर्तनप्रति नै प्रश्न उठ्नेछ। सबै सरकारले यसमा गम्भीर ध्यान दिनुपर्छ।"

उपराष्ट्रपति पुनले संविधानलाई परिष्कृत परिमार्जन तथा संशोधन गरेर समृद्धि बनाउन र पूर्ण कार्यान्वयन गर्न अझै धेरै मेहनत गर्नुपर्ने बताउनुभयो। उहाँले शान्ति सम्झौताको बाँकी कामलाई छिटो टुङ्गोमा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो।